काठमाडौं : अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस मंगलवार विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ ।
‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
दिवसको अवसरमा शान्तिवाटिकाबाट ¥याली निकालिएको थियो । ¥याली भृकुटीमण्डप पुगेर कोणसभामा परिणत भएको थियो । सन् १९९२ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो ।
दिवसका अवसरमा आयोजित कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर साह सुडीले अपाङ्गता भएका व्यक्तिहरुलाई आवश्यक सहायता सामग्री उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री साहले आउँदो आर्थिक वर्षको बजेटमा यस विषयका लागि छुट्टै रकम विनियोजन गरिने बताए ।
उनले निजी तथा सरकारी निकायहरूसँग समन्वय गरी देशभरका अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामग्री वितरण गरिने योजना रहेको जानकारी दिए ।
उनले अपाङ्गता भएका व्यक्तिहरूको क्षेत्रमा देखिने गरी काम गर्न आवश्यक रहेको उल्लेख गर्दै भने, ‘हालसम्म प्राप्त भएका उपलब्धिहरूको संरक्षण गरी थप प्रगति गर्न अपाङ्गता क्षेत्रका सरकारी र गैरसरकारी संस्थाहरूको सहयोग अपेक्षित छ ।’
उनले सबैलाई सम्मानजनक जीवनयापनको संवैधानिक सुनिश्चितता प्रदान गर्ने दिशामा सकारात्मक धारणा विकास गर्न आग्रह पनि गरे ।
मन्त्री साहले काठमाडौंमा मात्र सीमित नरही सातै प्रदेश र ७७ वटै जिल्लामा कार्यक्रम विस्तार गर्नुपर्ने आवश्यकता औँल्याए । उनले सांकेतिक रूपमा एक सहायता सामग्री वितरण गर्दै देशभरका अपाङ्गता भएका व्यक्तिहरूलाई सहायता सामग्री उपलब्ध गराउने प्रतिज्ञा व्यक्त गरे ।
‘आगामी बजेटमा यस विषयलाई समावेश गरी सरकारी तथा गैरसरकारी निकायहरुसँग सहकार्य गरेर सहयता सामग्रीको व्यवस्था गर्नेछौं,’ उनले भने ।
विगतका सरकारहरूले अपाङ्गता भएका व्यक्तिहरूका लागि सम्झौता गरे पनि बजेट विनियोजन नगरेको उल्लेख गर्दै आगामी बजेट निर्माणका क्रममा आफूले जिम्मेवारी सम्हालिरहेको अवस्थामा निश्चित रूपमा व्यवस्था गरिने प्रतिबद्धता समेत जनाए ।