२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई हप्तादेखि ताला

shivam cement
२०८१ मंसिर १९ गते १५:३७
Shares
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई हप्तादेखि ताला

जुम्ला : जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको पठनपाठन दुई हप्तादेखि प्रभावित भएको छ । शिक्षक र कर्मचारीहरूले बढुवाको माग गर्दै प्रतिष्ठानको शैक्षिक भवन र प्रमुख पदाधिकारीहरूको कार्यकक्षमा ताला लगाएका छन् ।  

दुई सातादेखि प्रतिष्ठानको शैक्षिक भवन, उपकुलपति डा. मङ्गल रावल, रजिष्ट्रार नृपेन्द महत र रेक्टर डबलबहादुर धामीको कार्यकक्षमा ताला लगाइएको छ । 

५८ जना शिक्षक र कर्मचारी लामो समयदेखि बढुवा नभएको भन्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरूले बढुवाको नियुक्ति पत्र प्राप्त नहुँदासम्म ताला नखोल्ने धम्की दिएका छन् । 

लामो समयदेखि बढुवा प्रक्रिया अघि नबढाउनु, कर्मचारीको पक्षमा अदालतले गरेको फैसला कार्यान्वयन गर्न नमान्नु, कार्यकारी परिषद्ले सभा बैठकमा लिएको स्तरोन्नतिको प्रस्तावमा सैद्धान्तिक सहमति दिँदा समेत पहल अघि नबढ्नुजस्ता कारण देखाएर तालाबन्दी गरिएको छ ।

प्रतिष्ठानका पदाधिकारीहरूले शिक्षक कर्मचारीसँग संवाद र सहमतिको प्रयास गरे पनि कुनै समाधान निस्कन सकेको छैन । वार्ता टोलीका संयोजक डा. धामीले शिक्षक कर्मचारीलाई वार्तामा बोलाइएको भए पनि उनीहरू नआएको बताए ।

यस आन्दोलनका कारण प्रतिष्ठानको पठनपाठन र प्रशासनिक कामकाज ठप्प भएको छ । डा. धामीले भने, ‘आन्दोलनमा उत्रिएका शिक्षक कर्मचारीलाई वार्तामा बोलाएका छौं । तर उनीहरू बस्न मानिरहेका छैनन् । फलस्वरूप कहिलेसम्म प्रतिष्ठान खुल्ने भन्ने द्विविधा सिर्जना भएको छ ।’ 

धामीका अनुसार नेपालभरिबाट चिकित्सा शिक्षा पढ्न आएका विद्यार्थीहरू मर्कामा परेका छन् । शिक्षक कर्मचारीले पदाधिकारीको कक्षमा मात्र ताला लगाएको भए पढाइ प्रभावित नहुने धामी बताउँछन् । उनले आन्दोलनको स्वरुप बदल्न आग्रह गरिरहेको पनि उल्लेख गरे ।

शिक्षक र कर्मचारीको बढुवा प्रक्रिया नेपाल लोकसेवा आयोगको परामर्श अनुसार अघि बढाउन भनिए पनि अहिलेको अवस्थामा विद्यार्थीहरूका लागि गम्भीर समस्या सिर्जना भएको छ । 

सम्बन्धित खबर