जनकपुरधाम : प्रसिद्ध विवाह पञ्चमी महोत्सवमा सहभागी भएका नेपालका लागि इजरायली राजदूत श्मुलिक आरी बासले यो आफ्नो जीवनको निकै अनौठो र रमाइलो अनुभव रहेको बताएका छन् ।
शनिबार सञ्चारकर्मीसँग जनकपुरमा कुराकानी गर्दै राजदूत बासले भने, ‘मैले यो कहिल्यै कल्पना समेत गरेको थिइन् की एकदिन भगवानको बिहेमा सहभागी हुन पाउने छु । भारत र नेपाल बीचको सांस्कृतिक सम्बन्धको साक्षी बन्न पाउँदा मलाई निकै खुशी लागेको छ ।’
राजदूत बासले मधेश प्रदेशका लागि इजरायल सरकारद्वारा विशेष खालका कार्यक्रमहरू ल्याउन आफूले पहल गर्ने जानकारी समेत गराए । उनले आफ्नो भ्रमणको क्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहसँग समेत भेटघाट गरेका छन् ।
जानकी मन्दिरको तर्फबाट जनकपुरधाम उपमहानगरपालिकाका पूर्वनगरप्रमुख बजरंग साहद्वारा विवाहपञ्चमी महोत्सवमा सहभागी हुन आमन्त्रण पाएपछि उनी श्रीमतीसहित जनकपुर आएका हुन् ।