झापा-प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको मेचीनगर नगरपालिका–४, आमडाँडीस्थित मानवसेवा आश्रमको जिल्ला कार्यालयको भवन उद्घाटन र मानवसेवा स्मारकको भवन शिलान्यास गरेका छन् ।
प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्यले सो उद्घाटन र शिलान्यास गरेका हुन् । कार्यक्रममा आश्रमका लागि दुई बिगाहा पाँच कठ्ठा जग्गा दिने स्थानीय रामबहादुर प्रधान र परिवारलाई सम्मान गरिएको थियो ।
दुई दिने गृहजिल्ला भ्रमणका क्रममा झापा आएका प्रधानमन्त्री ओलीले आइतबार मानव सेवा आश्रम पाँच वर्षीय गुरुयोजनाको शिलान्यास र १९ औँ सेवा केन्द्र कार्यालयको उद्घाटन गर्दै एक महिनाको तलब दिने घोषणा गरे ।
उनकी धर्मपत्नी राधिका शाक्यले पनि दुई महिनाको पेन्सन दिने पनि घोषणा गरेकी छिन् । त्यसैगरी कार्यक्रममा सहभागी मन्त्री, सांसद, मेयर, उपमेयर तथा सामाजिक व्यक्तित्वहरूले आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।
सडक आश्रित मानव मुक्त राष्ट्र नेपाल निर्माण गर्ने परिकल्पनासहित झापामा मानव सेवा आश्रम स्थापना गरिएको हो । स्थानीय रामबहादुर प्रधानका परिवारले २ विगाहा ५ कट्ठा जग्गा दान गरेपछि २०८१ साउनदेखि मानव सेवा आश्रम स्थापना गरिएको आश्रमका प्रवक्ता सुमन बर्तौलाले जानकारी दिए । सडक आश्रित मानवहरूको उद्धार गरी यस आश्रममा ल्याएर राखिन्छ । यस सेवा केन्द्रमा हाल १० महिलासहित ४३ जना सडक आश्रित छन् ।
४७ जनामध्ये चारको निधन भइसकेको प्रवक्ता बर्तौलाले बताए । २०६९ साल भाद्र १३ गते मकवानपुर, हेटौँडामा औपचारिक रूपमा मानव सेवा आश्रमको सेवा केन्द्र स्थापना यो अभियानको सुरुवात गरिएको हो ।
‘मानवता प्रवद्र्धन महाअभियान’ अन्तर्गत खुला आकाशमुनि रात बिताउन विवश बेसहारा, असहाय तथा जीवन नै जोखिममा रहेका १० हजार ८२७ सडक आश्रित मानवको उद्धार गरिसकेको बताउँदै उनले भने, ‘तीमध्ये ५ हजार जनाभन्दा बढीको सामुदायिक तथा पारिवारिक पुनर्मिलन र पुनर्स्थापना गराइसकेका छौं ।’
जसमध्ये १ हजार ३७२ जना ब्रम्हलिन भएको र मानसिक असन्तुलनको अस्वस्थताका कारण पारिवारिक पुनर्मिलन हुन नसक्ने अवस्थामा रहेका १ हजार ८७० जना मानवसेवा आश्रमका मुलुकभर रहेका २५ वटा सेवा केन्द्रमा आश्रित रहेको उनको भनाइ छ ।