काठमाडौं : उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्था परिवर्तन भएसँगै विकासको काम पनि भएको दाबी गरेका छन् ।
शुक्रबार चितवनमा नेशनल सिटी अस्पतालको भवनको उद्घाटन गर्दै उपप्रधानमन्त्री सिंहले व्यवस्था परिवर्तन भयो, अवस्था उस्तै छ भनेर गलत भाष्य बनाउन खोजिएको आरोप पनि लगाए ।
उनले भने, ‘केही पनि भएको छैन भनेर यहाँ जुन भाष्य बनाउन खोजिएको छ । २०४६ पछाडि जन्मिएको पुस्तालाई त्यो भन्दा अगाडि कस्तो थियो? थाहा नहुन सक्छ । आफ्नै बुबाहरूसँग, अघिल्लो पुस्तासँग सोध्न सकिन्छ ।’ उपप्रधानमन्त्री सिंहले थपे, ‘व्यवस्था मात्रै परिवर्तन भएको छैन, विकासको काम पनि भएको छ । सामाजिक आर्थिक क्षेत्रमा पनि धेरै परिवर्तन भएको छ ।’ उनले परिवर्तनको आभास हरेक नागरिकमा पुर्याउन केही समय लाग्ने भन्दै सरकारले त्यसका लागि काम गरिरहेको पनि उल्लेख गरे ।
त्यस्तै उपप्रधानमन्त्री सिंहले प्राप्त अधिकारलाई सुरक्षित गर्दै अब देशलाई विकासको बाटोमा लैजान सबै लाग्नुपर्नेमा जोड दिए ।