काठमाडौं :कहिले गीत गाउँदै गरेका त कहिले टेलिभिजन कार्यक्रम चलाइरहेका भेटिने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा यसपटक हिमाल आरोहणमा देखिएका छन् । उनले ६ हजार १ सय ४५ मिटर अग्लो लुबुचे हिमालको आरोहण गरेका छन् ।
शर्माले हिमाल आरोहणको आफ्नो सपना पूरा गरेको बताए । महामन्त्री शर्माले हिमालको चुचुरोमा पुग्दाको अनुभव साट्दै भने, ‘स्वर्गीय आनन्दको अनुभूति त गरे नै, ग्लोबल वार्मिङका कारण हामीले दोस्रो पुस्तालाई कस्तो हिमाल हस्तान्तरण गर्दैछौँ भन्ने चिन्ता पनि मनमा आयो ।’
२१ मंसिरमा खुम्बु पदयात्रा सुरु गरेका शर्मासहित ५ जनाको टोली २७ मंसिर राती ११ बजे आधार शिविरबाट शिखरतर्फ उक्लिएको थियो । ‘२८ मंसिर बिहान ६ बजेर ४५ मिनेटमा पिकमा पुग्यौं,’ शर्माले भने ।
करिब ४ वर्षअघिदेखि नै हिमाल आरोहणका लागि तयारी गर्दै आएको उनले बताए । उनले हिमाल आरोहणको काम शारीरिक शक्तिभन्दा मानसिक र आत्मविश्वासको कुरा रहेको यस आरोहण यात्राका क्रममा बुझेको बताए । उनले हिमाल आरोहणबाट फर्केपछि जलवायु परिवर्तनले हिमालमा पु¥याएको असरबारे नजिकबाट देख्न र बुझ्न पाएको धारणा राखे । संसद् र सम्बन्धित ठाउँमा यस विषयमा कुरा राख्ने उनको अठोट छ ।