सिन्धुपाल्चोक : नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा भूमेश्वरी माध्यमिक विद्यालय हेलम्बुस्थित किउल,सिन्धुपाल्चोकले आफ्नो स्वर्ण जयन्तीका अवसरमा 'विद्यालयमा कुलपति' कार्यक्रमको आयोजना गरेको छ । उक्त अवसरमा माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगिता समेत राखिएको थियो ।
कार्यक्रमको पानसमा बत्ति बालेर समुद्घाट्न गर्दै कुलपति राईले हेलम्बु वर्तमान नेपालको सजीव चित्र रहेको उल्लेख गर्दै पहिले पढ्ने बेलामा हेलम्बुका बारेमा गीत, कविता र आख्यान मार्फत थाहा पाएको स्मरण गर्दै सबै जातजाति र आदिवासीहरू एकआपसमा हातेमालो गर्दै बसेकाले नै हेलम्बु नमुना पर्यटकीय गाउँ बनेको बताएका थिए ।
साथै विद्यालयमा कुलपति कार्यक्रमअन्तर्गत सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर २ स्थित भूमेश्वरी माध्यमिक विद्यालयको स्वर्ण जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले प्रज्ञा -प्रतिष्ठानलाई गाउँ-गाउँ, बस्ती- बस्ती र स्कुल-स्कुलमा पुर्याउनका लागि आफूले सक्दो काम गरिरहेको बताए ।
उनले जनताको साहित्य ,भाषा र सांस्कृतिक रहनसहनका बारेमा अब स्कुल-स्कुलमा पुगेर अध्ययन गर्दै प्रतिष्ठानको काम र कर्तव्यका बारेमा जानकारी गराउने उद्देश्यले अहिले 'विद्यालयमा कुलपति' कार्यक्रम गरिरहेको बताए । विद्यार्थीले पढ्ने किताब लेख्ने व्यक्ति चिनिन र चिनाउनका लागि अहिले विद्यालयमा पुग्ने गरेको उनले प्रष्ट पारे ।
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शिक्षा,संस्कृति र स्वास्थ्यमा गरेको लगानी र चासोलाई सम्मान व्यक्त गर्दै कुलपति राईले वास्तविक विकास भनेकै दिमागको विकास भएकाले कविता लेख्ने व्यक्ति असल संस्कार र संस्कृतिले भरिपूर्ण हुने बताए ।
कार्यक्रममा नेपाल प्रज्ञा -प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले प्रतिष्ठानले नेपालका भाषा, संस्कृति, कला, साहित्य, दर्शन र समाजशास्त्रको क्षेत्रमा संरक्षण गर्दै आएको बताए । उनले अहिले संविधानले प्रदेश सरकार र स्थानीय सरकारलाई समेत प्राज्ञिक अधिकार दिएकाले अब प्रज्ञा -प्रतिष्ठानले प्रदेश र स्थानीय तहसम्म पुगेर सहजीकरण गर्ने बताए ।
प्रतिष्ठानका सदस्य डा. मधुसूदन गिरीले बालबालिकाले भोलिको भविष्यलाई काधमा बोकिरहेको पाएको बताएका छन् । उनले बालबालिकाको प्रतिभा तथा क्षमतालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने योजना बनाएर सहयोग गर्न आग्रह गरे ।
प्रज्ञा-प्रतिष्ठानका सदस्य डा.कृष्णराज अधिकारीले भौतिक विकाससँगै शैक्षिक,सामाजिक र भाषिक विकासमा जोड दिन आग्रह गरेका छन् । हेलम्बुको चर्चा धेरै पहिलादेखि सुनेको भन्दै अहिले हेलम्बुमै आएर आफ्ना भनाइ राख्न पाएकोमा खुसी लागेको बताए ।
कार्यक्रममा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पढाइसँगै संस्कृति, रीतिरिवाज र अतिरिक्त कृयाकलापमा पनि विद्यार्थीलाई सहभागी गराइ भविष्यको बाटो देखाउनुपर्ने बताए । उनले प्रज्ञा-प्रतिष्ठानका कुलपति लगायतका व्यक्तित्वलाई हेलम्बुमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए ।
कार्यक्रममा स्वर्ण जयन्ती विशेष माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालयकी छात्रा पूर्णिमा तामाङ प्रथम ,इस्ट पोइन्ट एकेडेमीकी आशिका केसी द्वितीय ,भूमेश्वरीकी लक्ष्मी सुनार तृतीय र सर्वोदय माध्यमिक विद्यालयकी सिर्जना तामाङ र बोधिसत्व मोडल स्कुलका सिदार्थ पुरीले सान्त्वना स्थान हासिल गरे ।
प्रमुख अतिथि कुलपति राईले प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्नेलाई क्रमश: ४ हजार, ३ हजार, २ हजार र १–१ हजारका दरले पुरस्कार प्रदान गरे ।
उक्त कविता प्रतियोगिताको निर्णायकमा डा.रमेश शुभेच्छु, माधव घिमिरे अटल र जयराम विडारी थिए । प्रतियोगितामा गाउँपालिका भित्रका माध्यमिक विद्यालयका १६ जना विद्यार्थीको सहभागिता रहेको थियो ।
हेलम्बु गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक क्षिरिङ लामा ह्योल्मो, विद्यालयका प्रधानाध्यापक यमबहादुर ज्योति लगायतले आआफ्नो धारणा राखेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोदनाथ भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो । हेलम्बु गाउँपालिकाको सहयोग र मेलम्ची साहित्य प्रतिष्ठानको सहकार्यमा कार्यक्रम भएको थियो ।