रौतहट : रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ५ पताही टोलका आगलागी पीडितहरुले राहत नपाएको गुनासो गरेका छन् । गत आइतबार राति आगलागी हुँदा ८ जनाको घर जलेर नष्ट भएको छ । राति करिब १२ बजेर ४५ मिनेटको समयमा आगलागी हुँदा दलित समुदायको ८ परिवारको फुसको घर खरानी भएको हो ।
आगलागीमा सबैभन्दा बढी क्षति स्थानीय बाबुलाल पासवानको भएको छ । पीडितका अनुसार जग्गा खरिद गर्नका लागि घरमा राखेको १७ लाख नगद जलेर खरानी भएको छ । सुतिरहेको बेला आगलागी भएकाले घरमा रहेका समान निकाल्न नसकेको उनको भनाइ छ ।
आगलागीबाट स्थानीय रामनाथ पासवान, जगरनाथ पासवान, सोगारथ पासवान, प्रदिप पासवान, दिपेन्द्र पासवान, कान्ति देवी र नागेन्द्र पासवानको घर जलेको वडा अध्यक्ष सुरेश पंडितले बताए । घरमा भएको गहुँ , धान, चामल, विद्युतीय सामग्री, भाँडा, लता कपडा नष्ट भएको पीडितहरूले बताएका छन् । गौर नगरपालिकाबाट गएको बारुण यन्त्रको सहयोगबाट आगो नियन्त्रणमा लिएको स्थानीयहरुले जनाएका छन् ।
आगलागी पीडितहरु बढ्दो जाडोले थप समस्यामा परेका छन् । उनीहरुले कतैबाट पनि खासै राहत नपाएको गुनासो गरेका छन् ।आगलागी भएको दुई दिन बित्दा पनि आश्वाशनबाहेक खासै सहयोग नपाएको उनीहरुको गुनासो छ ।