काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानविनको माग गरेका छन् । नेता पौडेलले शुक्रवार विहान सामाजिक सञ्जाल फेसबुक लाईभ मार्फत भ्रष्टाचारमा जो सुकै भएपनि तत्काल छानविन गरी कारवाहीको दायरामा ल्याउन माग गरेका हुन् ।
नेता पौडेलले स्वास्थ्य सामग्री खरिदमा अहिले पनि सरकार दुविधामा रहेको भन्दै असन्तुष्टि जनाए । उनले स्वास्थ्य सामग्री खरिदमा सरकारमा रहेका मन्त्रीहरु जी टु जी मार्फत खरिद सम्भव नहुने बताउने तर मन्त्रीपरिषदले त्यही निर्णय गरेर आम मान्छेमा दुविधा बनाएको बताए । उनले यो सबै दुविधा कतै स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचार ढाकछोपका लागि त होइन भन्ने शंका समेत व्यक्त गरे ।
वरिष्ठ नेता पौडेलले सेनाले खरिद गर्दा अख्तिारले छानविन गर्दैन भन्ने मानसिकतामा सरकार देखिएको भन्दै सवै कुरा सेनालाई दिनुपर्ने अन्य क्षेत्र प्रति किन अविश्वास सृजना गरिँदै छ भन्ने प्रश्न समेत गरे । संकटको बेलामा स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार हुनु दुर्भाग्यपूर्ण भन्दै पौडेलले चीनमा कोरोनाको संक्रमण देखिएकै अवस्थाबाट किन सरकारले प्रयाप्त तयारीमा नलागेको भनि प्रश्न गरे ।
पौडेलले भ्रष्टाचारका कारण सरकारमा जनताप्रतिको सेवाभाव हराएको बताउदै भ्रष्टाचारबाट पैसा जम्मा गरेर त्यही पैसाका भरमा चुुनाव कब्जा गर्ने मनोवृति देखिएको समेत बताए । वरिष्ठ नेता पौडेलले कोरोनाको संक्रमणले संघीयताको औचित्य पुष्टि भएको बताए । उनले स्थानीय तहले संकटका बेलामा देखाएको कामले संघीयता र स्थानीय तहको अधिकार आवश्यक थियो भन्ने पुष्टि भएको बताए ।
उनले स्थानीय तहले क्वारेन्टाइन बनाउने देखि गरिब विपन्नलाई राहत दिने जस्ता काम स्थानीय तहले गरेकोमा प्रशंसा समेत गरे । पौडेलले स्थानीय तहमा जनप्रतिनीधिलाई प्रशिक्षित बनाउन सकेको भए संकटका बेलामा अझै क्षामता देखाउन सक्ने पनि स्पष्ट पारे । पौडेलले राज्यले केहि राम्रा काम गरेको भएपनि प्रयाप्त काम गर्न नसकेको भन्दै असंतुष्टी जनाए । उनले राज्यको भूमिका बारेमा सरकारमा बसेकाहरुले नजरअन्दाज गरेको बताउदै संकटका बेलामा राज्यको भूमिका खड्किएको आम नागरिकले महशुस गरेको बताए ।
पौडेलले कोरोना भाइरसको संक्रमणबाट नेपालमा आतिनुपर्ने अवस्था नभएको भन्दै संयमित भएर आत्माविश्वास बढाएर सरकारले जारी गरेको लकडाउनलाई विवेकपूर्ण उपयोग गर्न आम नागरिकलाई आपिल गरे । पौडेलले कोरोना भाइरसका कारण विश्वमा वजारीकरणका कारण हराउदै गएको मानवियता र वातावरण विरोधी कामको समिक्षा गर्नुपर्ने बेला आएको पनि बताए ।
उनले विश्वलाई वजारीकरणका कारण गुमाउदै गएको मानव मानव बीचको सदभाव र मानवियता देखाउने अवसर मिलेको पनि बताए । उनले अब विश्वले विकासको मोडेल पनि परिवर्तन गर्नुपर्ने बताए । पौडेलले विकासको मोडेल परिवर्तन गरि प्रकृति मैत्री विकासको मोडेललाई आगाडि बढाउन विश्व लाग्नुपर्ने बताए ।
वरिष्ठ नेता पौडेलले संक्रमण फैलिएका मुलुकबाट आएका नागरिकको पहिचान गर्न नसकेको कारण आम नागरिकमा त्रास फैलिएको भन्दै विदेशबाट आएका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा आफुलाई पुर्याउँदै स्थानीय तहको सम्पर्कमा बसी राज्यलाई संकटमा सहयोग गर्न समेत अपित गरे । वरिष्ठ नेता पौडेलले आम नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई स्थानीय स्तरमा आफै निर्वाचित जनप्रतिनीधि जस्तो भएर आफु र आफ्नो समाज जोगाउने काम लाग्न समेत निर्देशन दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies