हेटौंडा : विपद्बाट क्षति पुगेको सडक तथा पूर्वाधार पुनर्निर्माणका लागि वाग्मती प्रदेश सरकारले बजेट निकासा गरेको छ ।
प्रदेश सरकारको शुक्रबार राजधानी हेटौंडामा बसेको मन्त्रिपरिषद्को बैठकले विपद् प्रभावित सडक तथा पूर्वाधार पुनर्निर्माण गर्न १५ करोड २५ लाख रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय गरेको छ ।
विपद् प्रभावित हेटौंडा–काठमाडौं जोड्ने छोटो दूरीको सडकका लागि ११ करोड २५ लाख रुपैयाँ र प्रदेशका अन्य सडक तथा पूर्वाधार मर्मतका लागि ४ करोड रुपैयाँ बजेट व्यवस्था गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार कुलेखानी–सिस्नेरी सडक मर्मतका लागि ५० लाख रुपैयाँ, कुलेखानी–महालक्ष्मी खोला फाखेल खण्ड मर्मतका लागि २५ लाख रुपैयाँ, सिमखोलमा बेलिब्रिज राख्न २ करोड रुपैयाँ, सिस्नेरी खण्डको सडक पुनः निर्माणका लागि ६ करोड रुपैयाँ र सिस्नेरी छैमले खण्डको सडक पुनः निर्माणका लागि २ करोड ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो ।
बिहीबार सम्पन्न प्रदेश विपद् परिषद्को बैठकको निर्णयलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेको हो ।
साथै बैठकले स्वास्थ्य संस्था आशयपत्र सेवा सञ्चालन अनुमति नवीकरण तथा स्तरोन्नति मापदण्ड स्वीकृत गर्ने निर्णय पनि गरेको छ । यस्तै संघ सरकारबाट प्रदेशमा आएका सचिव वीरेन्द्रदेव भारतीलाई प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयमा पदस्थापन गर्ने निर्णय भएको छ । सरकारले ११ औं तहमा बढुवा गरेका निरञ्जन श्रेष्ठलाई वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र ललितपुरमा पदस्थापन गरेको छ ।