२०८१ पुष २२ गते सोमवार / Jan 06 , 2025 , Monday
२०८१ पुष २२ गते सोमवार
Ads

राज्यमन्त्री चौधरीको सांसद पद विवादमा सर्वोच्चले २४ पुसमा फैसला सुनाउने

ADV
मध्यान्ह
२०८१ पुष १९ गते १८:०७
राज्यमन्त्री चौधरीको सांसद पद विवादमा सर्वोच्चले २४ पुसमा फैसला सुनाउने


काठमाडौं : पर्यटन राज्यमन्त्री तथा कैलाली–२ का सांसद अरुणकुमार चौधरीको योग्यता विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले २४ पुसमा फैसला सुनाउने भएको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको इजलासले यस विवादमा १९ मंसिर १९ मै सुनुवाइ सम्पन्न गरिसकेको छ ।

यसअघि गत बुधबारका लागि निर्णय सुनाउने दिन तोकिएकामा उक्त दिन न्यायाधीशहरू संवैधानिक इजलासकै अन्य मुद्दामा व्यस्त भएकाले फैसला सुनाउन सर्वोच्चले नयाँ तिथि तोकेको हो ।

नागरिक उन्मुक्ति पार्टीका सांसद एवं पर्यटन राज्यमन्त्री चौधरी प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न अयोग्य भएकाले उनलाई पदमुक्त गर्नुपर्ने माग राखी अधिवक्ता वसन्त जोशीले १७ चैत २०७९ मा मुद्दा दायर गरेका थिए । करिब २ वर्षपछि उक्त मुद्दा फैसला चरणमा प्रवेश गरेको हो । 

फौजदारी कसुरमा सजाय ठहर भएका चौधरीको सांसदको उम्मेदवार बन्न योग्यता नपुग्ने भएकाले उनी निर्वाचित भएको भन्ने निर्वाचन आयोगको घोषणा बदर हुनुपर्ने रिटमा दाबी गरिएको छ ।

३ भदौ, २०६६ मा लु २ त २११ नम्बरको ट्याक्टर जलाएको भन्दै २ भदौ २०६७ मा महादेव बजगाइँले कैलाली जिल्ला अदालतमा चौधरीसहित तीन जनाविरुद्ध मुद्दा दायर गरेका थिए । ट्याक्टरमा आगजनी गरेको कसुरमा अदालतले २०७० सालमा दोषी ठहर गरी ६ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने फैसला सुनाएको थियो । तर, उनी फरार थिए ।
फरार रहकै बीच उनी २०७४ मा सांसद पदमा र गाउँपालिका अध्यक्षको पदमा पनि चुनाव लडे तर पराजित भए ।

२०७९ को चुनावमा कैलाली– २ मा नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएपछि चौधरी माघ २०७९ पक्राउ परे । जिल्ला अदालतको फैसलाअनुसार प्रहरीले उनलाई कारागार पठाएको थियो ।

तर, राष्ट्रपतिले उनको कैद माफ गरेपछि पुनः सांसदकै हैसियतमा काम गर्न थाले । प्रधानमन्त्री केपी शर्मा ओलीले गत साउनमा उनलाई पर्यटन राज्यमन्त्री नियुक्त गरे ।

चौधरीले निर्वाचनमा उम्मेदवारी दिँदा आफूमाथि कुनै पनि फौजदारी अभियोग नभएको र कैद तथा जरिवाना कुनै अड्डा अदालतमा कैद तथा जरिवाना बक्यौता नरहेको भनी घोषणा गरेका थिए । उक्त अनुसूची फाराम भर्दा नै उनले ढाँटेको र उनको सांसदका लागि उम्मेदवार बन्न योग्यता नै नपुग्ने भएकाले तत्काल उनको पद खारेज गर्नुपर्ने माग रिटमा गरिएको छ ।
 

ADVADV

सम्बन्धित खबर

Advertise