-डा. रितराज खड्का
विश्वले नै अहिले कोरोना भाइरसको महामारी सहिरहेको छ । सहरका बाटाघाटा सुनसान देखिन्छन् । नेपाल पनि अपवाद बन्न सकेन । मानिसहरु अहिले घरभित्र बस्न बाध्य छन् । अहिले भइरहेको लकडाउनको अभ्यास महामारीबाट जोगिने उत्तम तरिका रहेको विश्व स्वस्थ्य संगठनलगायत जनस्वास्थका जानकार विज्ञहरुको ठम्याइ छ । त्यसैले हामी आफैं पनि सचेत हुनु आवश्यकमात्र हैन अपरिहार्यसमेत हो ।
महामारीको रुप लिऐको यतिका महिना बित्दा पनि यस रोगको वैज्ञानिक औषधि पत्ता लगाउन नसक्नु, विज्ञहरुबाट दिन प्रतिदिन नयाँ नयाँ धारणा आउनु पनि सिङ्गो समुदायको डर र चिन्ताको कारण बनेको छ । अर्को, यो भाइरसको प्रारम्भिक प्रमुख स्रोत के हो भन्ने थाहा नपाउनु पनि वैज्ञानिक जगतको टाउकोको दुखाइ आश्चर्यको विषय बनेको छ । यस्को स्रोत पत्ता नलाग्दासम्म कोरोना भाइरसविरुद्ध बन्ने नयाँ भ्यासिनमा पनि प्रश्न चिन्ह रहिरहन्छ ।
कोरोना भाइरसले विश्व स्तरमा विनाशकारी रुप लिँदै गर्दा हाम्रोजस्तो समुदायलाई भने केही सकारात्मक पाठ सिक्ने अवसर पनि मिलेको छ । चिकित्सकका हैसियतले आज म केही सामान्य तर मानव जीवन स्वस्थ राख्न आवश्यक विषयका बारेमा बताउने जमर्को गर्दैछु जुन अहिले समुदायले अपनाउँदै पनि गएको छ ।
१. मास्क वा रुमालले मुख छोप्ने
वातावरणमा प्रतिदिन प्रदूषण बढिरहेको छ । यस्को प्रभाव मानव जीवनमा प्रत्यक्ष पर्छ । उदाहरणका रुपमा लकडाउन हुनुभन्दा पहिला र भएको एक महिनापछिको अवस्था हेर्दा अहिलेको वातावरणीय स्वच्छता मापन अंकलाई लिन सकिन्छ । प्रदूषणबाट बच्न र स्वास्थ रहन घरबाहिर निक्लिँदा मास्क वा रुमालले मुख छोप्नु उत्तम उपाय हुनसक्छ । अहिले भोगिरहेको महामारीले यो सिकाएको छ । यो सकारात्मक पाटो हो । नजिकैको मानिसबाट रोग आफूलाई नसर्न र आफूलाई कुनै रोग भए अरुलाई सर्न नदिन पनि मास्क लगाउने, बोल्दा या हाच्छिउँ गर्दा रुमालले मुख छोप्ने बानी अहिलेको परिस्थितिले बसाएको छ ।
२. साबुन वा खरानी पानीले मिचीमिची हात धुने
सामान्यतः हामी सबैले साबुन पानीले हात धुने त गर्छौँ तर कसरी र कति पटक भन्ने धेरैलाई थाहा थिएन । यो महामारीपछि साबुन पानीले मिचीमिची हात धुने बानी बसालेको छ । विश्व स्वास्थ संगठनअनुसार उचित तरिका अपनाएर (विश्व स्वस्थ संगठनको हात धुने तरिका) दिनमा कम्तीमा पनि १८ पटक हात धुनुपर्ने प्रावधान त पहिलादेखि नै थियो । तर, हामीले दिनमा १८ पटक उचित तरिका हात धुने गरेका थियौं त ? आउँदा दिनमा निरन्तरता दिइयो भने हात धुने बानीले स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने निश्चित छ ।
३. ह्यान्ड स्यानिटाइजर प्रयोग गर्ने
ह्यान्ड स्यानिटाइजर हातमा भएका आँखाले देख्न नसकिने कीटाणु मार्न नभई केही समय निस्क्रिय बनाई राख्न प्रयोग गरिने अल्कोहलयुक्त झोल हो । यस्को प्रयोग हाम्रो समाजमा हुँदै नभएको त हैन तर धेरै कम मानिसले गरेको पाइन्थ्यो । अहिले भने यसको प्रयोग गर्ने बानी ह्वात्तै बढेको छ । यो राम्रो बानीको विकास हो । परन्तु, यसको प्रयोग गर्ने तरिका अहिले पनि धेरैलाई थाहा नभएको हुनसक्छ । स्यानिटाइजरको प्रयोग विशेषगरी घरबाट बाहिर निस्कनु भन्दा र घर पस्नुभन्दा पहिले गर्नु उत्तम मानिन्छ । यसको प्रयोग व्यक्तिले गर्ने क्रियाकलापमा भर पर्ने हुन्छ । धेरै मानिसको संसर्ग हुने काम वा ठाउँ जस्तै सार्वजनिक सवारी साधनमा यात्रा, कागजको नोट धेरै चलाउनेजस्ता काम गर्नेले वा सार्वजनिक शौचालयको प्रयोग गरिसकेपछि ह्यान्ड स्यानिटाइजरको प्रयोग अनिवार्य हुन सक्छ । तर स्यानिटाइजर धेरैपटक प्रयोग गर्नु राम्रो मानिँदैन । उचित र आवश्यक अवस्थामा मात्र प्रयोग गर्नु उपयुक्त हुन्छ ।
४. सामाजिक दूरी कायम गरी बस्ने
सामाजिक दूरीलाई कायम गरी बस्नु कोरोना भाइरसको महामारीमा मात्र हैन समाजमा देखिने विभिन्न सरुवा रोगबाट बच्ने पनि उत्तम उपाय हो । सरुवा रोगहरु समुदाय, परिवेश, हावापानीमा भर पर्छ । नेपाली सामाजमा धेरै येस्ता सरुवा रोग हामीले जानी नजानी अरुलाई वा अरूबाट आफँलाई सार्छाै । रुघाखोकी, क्षयारोग, हेपाटाइटिस, मुखमा आउने विभिन्न किसिमका भाइरल इन्फेक्सनआदि यस्ता रोग धेरै छन् । यी रोगहरुबाट बच्न र बचाउन सार्वजनिक स्थानमा सामाजिक दूरी कायम गर्नु उत्तम र सजिलो तरिका हो । यसलाई निरन्तरता दिइएमा समुदाय स्वस्थ राख्न मद्दत मिल्नेछ । यसरी सामाजिक दूरी कायम राख्न कोरोना भाइरको महामारीले सकारात्मक बानी पारेको छ ।
५. योग र ध्यान गर्ने
चिकित्सा क्षेत्रमा योग र ध्यानलाई महत्वपूर्णरुपमा हर्न थालिएको छ । विश्व स्वस्थ्य संगठनले केही वर्षअघि स्वास्थ्यको परिभाषा परिवर्तन गरी योग र ध्यानबाट प्राप्त हुने मानसिक स्वस्थ्यलाई मान्यता दिएको छ । अहिले विश्व चिकित्सा क्षेत्रमा योग र ध्यानलाई महत्वका साथ अपनाइएको पाइन्छ । मानव शरीर भौतिकरुपमा मात्र हैन मानसिकरुपमा पनि उत्तिकै स्वस्थ हुनु जरुरी छ । अहिले लकडाउनको समयमा मानिसलाई घरमै बसेर योग र ध्यान गर्ने समय जुरेको छ । योग र ध्यानलाई अहिलेजस्तै आउँदा दिनमा पनि निरन्तरता दिन सके समुदायलाई नै मानसिक रोगबाट जोगाएर स्वस्थ रहन मद्दत मिल्छ ।
कोरोना भाइरसको सामना गर्ने क्रममा विकास भएका यी सकारात्मक बानीहरूलाई संस्कार बनाएर निरन्तरता दिऊँ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies