वीरगन्ज : पर्साको पटेर्वा सुगौली गाउँपालिकामा माघी तथा भाथा महोत्सव मंगलबारदेखि सुरू भएको छ ।
माघी पर्वको उपलक्ष्यमा पटेर्वा सुगौली गाउँपालिका–४ मा सुरू माघी तथा भाथा महोत्सवको थारु समुदायका अगुवा एवम् ज्येष्ठ नागरिक परमेश्वर गौरेले उद्घाटन गरे ।
पालिकामा रहेको धार्मिक पर्यटकीयस्थल भाथा धामको प्रचार–प्रसार र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकाले तीनदिने माघी तथा भाथा महोत्सव आयोजना गरेको हो ।
महोत्सवमा थारु समुदायका खानाका परिकार, मौलिक पहिरन र भेषभुषा, पालिकामा उत्पादन भइरहेका ढकिया–पथिया, दुना–टपरी, नारी सुरक्षा सेनेटरी प्याड, कृषि औजार लगायतका सामान प्रदर्शनीमा राखिएका छन् ।
यस्तै, महोत्सवको पहिलो दिन रक्तदान कार्यक्रम पनि आयोजना गरिएको छ । महोत्सवमा हरेक दिन थारु लोक संगीत र नृत्यसहितको सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिनेछ ।
महोत्सवमा पर्सा राष्ट्रिय निकुञ्जको जंगलभित्र रहेको पर्सा जिल्लाकै प्रमुख धार्मिक पर्यटकीयस्थल दग्धेश्वरनाथ महादेव मन्दिर र भाथा धामको प्रचार–प्रसार र पर्यटन प्रवद्र्धका लागि जिप र हात्ती सफारीको पनि व्यवस्था गरिएको छ ।