२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

जसपा नेपालले बलिदानी दिवस मनाउने

Nada
मनु यादव निरज
२०८१ माघ २ गते २१:२८
Shares
जसपा नेपालले बलिदानी दिवस मनाउने

लहान : जनता समाजवादी पार्टी नेपालले आउँदो माघ ५ गते बलिदानी दिवस मनाउने भएको छ ।  केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री  उपेन्द्र यादवको प्रमुख आतिथ्यमा सिरहामा आयोजना गरिने दिवसलाई सफल बनाउन लहानमा पार्टीका कार्यकर्तासँग पूर्व तयारी बैठक सम्पन्न भएको छ । 

ncell

लहानस्थित कुश्वाहा धर्मशालामा आयोजित बैठकमा पार्टीका जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतोको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा केन्द्रदेखि स्थानीय तहसम्मका नेता, कार्यकर्ताहरू तथा समाजका अगुवाहरूको उपस्थिति रहेको थियो । 

बैठकमा सहभागी नेताहरूले बलिदानी दिवसको महत्व र त्यसको सफल आयोजना सम्बन्धी विभिन्न दृष्टिकोण प्रस्तुत गरेका थिए । सांसद राजकुमार गुप्ता, पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा मधेश प्रदेश सांसद ललिता दास, जनता समाजवादी पार्टी नेपाल केन्द्रीय सदस्य तथा मधेश प्रदेश सांसद बैधनाथ प्रसाद साह, जनता समाजवादी पार्टी नेपाल केन्द्रीय सदस्य शत्रुधन मण्डल, जनता समाजवादी पार्टी नेपाल प्रदेश सदस्य प्रयागलाल यादव, जनता समाजवादी पार्टी नेपाल क्षेत्रीय अध्यक्ष रामचलितर महतो, लहान नगरपालिकाका उपप्रमुख लगायतको उपस्थित रहेको बैठकले बलिदानी दिवसलाई भव्य र स्मरणीय बनाउने लक्ष्यसहित विविध एजेन्डाहरूमा छलफल गरेको थियो ।  

नगर र गाउँ तहसम्मका कार्यकर्ताहरूलाई व्यापक रूपमा परिचालन गरी आमसभामा जनसहभागिता सुनिश्चित गर्ने बैठकले निर्णय गरेको छ । बैठकमा मन्तव्य राख्दै जसपा नेपालका नेताहरूले बलिदानी दिवस मधेश आन्दोलनको ऐतिहासिक संघर्ष र वीर सपूतहरूको योगदानलाई सम्मान गर्ने अवसर भएको बताएका थिए । 

बैठकमा सांसद राजकुमार गुप्ताले यो दिवसले आन्दोलनको मार्गचित्रलाई पुनः स्थापित गर्ने बताए । यस्तै दिनेश महतोले बलिदानी दिवसलाई ऐतिहासिक बनाउन कुनै पनि कसर बाँकी नराख्ने बताए । कार्यक्रमको व्यवस्थापनका लागि सबै सदस्यहरूले आ–आफ्ना जिम्मेवारी बहन गर्ने प्रतिबद्धता जनाए ।

ताजा खबर

सम्बन्धित खबर