वीरगन्ज : सशस्त्र प्रहरी बलले ६ महिनामा २१ करोडभन्दा बढी मूल्यका सामान नियन्त्रणमा लिएर वीरगन्ज भन्सार कार्यालय र राजश्व अनुसन्धान कार्यालयमा बुझाएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि पुससम्म भारतबाट भन्सार राजश्व छलेर पर्साको वीरगन्जसहितका नाका हुँदै ल्याइएका २१ करोड २८ लाख २६ हजार ५ सय २२ रुपैयाँ मूल्यका सामान नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामीले जानकारी दिए ।
नियन्त्रणमा लिइएका ती सामान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालय र बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको उनले बताए ।
पछिल्लो ६ महिनामा वीरगन्ज भन्सार कार्यालयमा १६ करोड ४७ लाख ४१ हजार १ सय ७५ रुपैयाँ बराबरको र ४ करोड ६० लाख ८५ हजार ३४७ रुपैयाँ मूल्य बराबरको सामान राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको धामीले जानकारी दिए ।
पर्सामा सशस्त्र प्रहरीले गत आर्थिक वर्ष २०८०/८१ म पर्साका विभिन्न स्थानबाट राजश्व छली गरेर भित्र्याइएका १४ करोड ५९ लाख ७२ हजार ८६७ रुपैयाँ मूल्य बराबरको सामान बरामद गरेर भन्सार र राजश्व अनुसन्धान कार्यालयमा बुझाएको थियो ।
गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको ६ महिनामै ६ करोड ६८ लाख ५३ हजार ६५५ रुपैयाँ बढी मूल्यको सामान बरामद गरिएको पनि उनले बताए ।