नेपालगंज : अत्यधिक चिसोसँगै शीतलहर चलेपछि नेपालगन्ज उपमहानगरपालिकाले नेपालगंजका विद्यालयको पठनपाठन बन्द गरेको छ । बुधबारदेखि शुक्रबारसम्म तीन दिनसम्मका लागि नगरले यहाँका सबै विद्यालयको पठनपाठन बन्द गरेको हो ।
पछिल्लो केही दिनयता नेपालगन्ज लगायत पश्चिम तराईमा चिसोसँगै लगातार शीतलहर चलिरहेको छ । चिसोले विद्यालय जाने विद्यार्थीलाई प्रभावित गरेकाले विद्यालय बन्द गर्नु परेको नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतको शिक्षा, युवा तथा खेलकुद महाशाखाका उपसचिव गोर्खबहादुर थापाले बताए । चिसो मौसममा नेपालगन्जले प्रत्येक वर्ष पठनपाठन बन्द गर्ने गर्छ ।
चिसोमा विद्यालय जाँदा धेरैजसो विद्यार्थीहरूमा मौसमी ज्वरो, रुघाखोकी बिरामी भएका थिए । कठ्यांग्रिँदो चिसोका कारण पढाइ प्रभावित भएपछि नगरले सबै विद्यालय बन्द गर्नु परेको उपमहानगरपालिकाले जनाएको छ । चिसो केही दिनसम्म यथावतै रहे बिदा थप बढ्न सक्ने छ । बाँकेका अन्य स्थानीय तहले भने अहिलेसम्म विद्यालयको पठनपाठन बन्द गरेका छैनन् । उनीहरूले पनि यस विषयमा आवश्यक समन्वय भइरहेको बताएका छन् ।
पश्चिम तराईका जिल्लामा बाक्लो हुस्सु, कुहिरोसँगको शीतलहरले जनजीवन प्रभावित पारेको छ । यहाँका सर्वसाधारण एक ठाउँबाट अर्को ठाउँ जान निकै सकस भएको देखिन्छ । चिसोबाट बच्न ठाउँ ठाउँमा आगो बालिएको छ ।