२०८१ भदौ २३ गते आइतवार / Sep 08 , 2024 , Sunday
२०८१ भदौ २३ गते आइतवार

कर्णालीको लोक संस्कृति कति छ, कति छैन ? 

ADV
कुलेन्द्र शाही
२०८१ असार १४ गते १९:२७
कर्णालीको लोक संस्कृति कति छ, कति छैन ? 

सुर्खेत : ‘नेपाली लोक संस्कृतिमा कर्णालीलाई हटाइदियो भने लोक संस्कृति नै बाँच्दैन । किनकि त्यसको जननी कर्णाली हो’ लोक साहित्यका अध्येता तथा लेखक ओम रिजालले भने, ‘यसलाई हटाइदिए न भाषा, इतिहास बच्छ, न त कला, संस्कृति नै बच्दछ ।’

मारुनी नेपालका सबै जिल्लामा प्रचलनमा छ । लोक साहित्यको अध्ययन गर्दा मारुनीभित्र कृष्ण गाथा र राम चरित्र पनि छ । यो दैलेखतिरको मारुनीभित्रको कुरा हो । वीरेन्द्रनगरमा जारी प्रथम कर्णाली साहित्य सम्मेलनमा बोल्दै लेखक रिजालले सुनाए, ‘कर्णाली विभिन्न जातिको पनि आदिभूमि हो । अहिले धेरै मान्छेहरू कुल देवताको खोजीमा कर्णालीमा आउँछन् ।’

प्रथम कर्णाली साहित्य सम्मेलनको पहिलो दिन शुक्रबार ‘कर्णालीको संस्कृति कति छ, कति छैन ?’ सत्रमा रिजालले कर्णालीको लोक संस्कृति र यहाँको भाषा साहित्यको वैभवका बारेमा बताए । उनले कर्णालीको मस्टो संस्कृतिको विषयमा अझ गहिरो गरी अध्ययन गरिनुपर्ने समेत उल्लेख गरे । उनले भने, ‘कर्णालीको लोक संस्कृतिले सबैलाई एकतामा बाँध्छ । फुटेको जुटाउने संस्कृति पनि कर्णालीमै छ ।’

उनले लोक संस्कृति लेखेर नबच्ने बताए । जीवेन्द्र देव गिरी, नरहरिनाथलगायत थुप्रै विद्वानहरूले कर्णालीको लोक संस्कृतिका बारेमा लेखे पनि बच्ने भनेको परम्परा रहेको रिजालको भनाइ छ । कर्णालीको लोक संस्कृतिलाई जीवित राख्न यसको पुस्तान्तरण आवश्यक रहेको लेखक रिजालको ठहर छ । 

‘यो पुस्ता सकियो भने अर्को पुस्तामा मागल बच्दैन । मारुनी हस्तान्तरण नभए त्यो बच्दैन । धमारी बचाउन पनि गुरुहरूले अर्को पुस्तामा हस्तान्तरण गर्न आवश्यक छ’ लेखक रिजालले लोप हुँदै गएको कर्णालीको लोक संस्कृति बारे चिन्ता गर्दै भने, ‘लेखकले त बचाउ है भनेर झकझक्याउने हो । यसको संरक्षणमा राज्यले विशेष ध्यान दिन आवश्यक छ ।’

कर्णालीलाई कर्णालीले अझै पनि लेख्न नसकेको रिजाल बाउँछन् । कर्णालीका बारेमा कर्णालीमै मान्छेहरूले पर्याप्त नलेख्दा बाहिरबाट आएर लेख्ने व्यक्तिहरूले कहिले कतै सही नहुँदा भ्रम पनि परेको उनी बताउँछन् ।  

राज्यले पनि यो विषयमा खासै ध्यान दिन नसकेको उनको ठहर छ । पछिल्लो समय पश्चिमा संस्कृति अंगाल्दा आफनौ लोक संस्कृति हराउँदै गएको रिजालको बुझाइ छ । ‘छैठ खेल्न छाडेर बेबी सावरमा गएको छ, यही हो हाम्रो संस्कृति ? हामीले हाम्रा संस्कृतिलाई रुढीवादी भन्यौं, देउताका पैठहरू छाडेर डिस्कोवरतिर हिड्यौं,’ उनले भने, ‘हामीलाई आफ्नो भाषा बोल्दा पाखेको अनुभूति हुन्छ । बच्चाले अंग्रेजी बोल्दा गर्वको अनुभूति हुन्छ । यसरी हाम्रो संस्कृति कसरी बाँच्छ ?’

गाउँ–गाउँमा आएका सिंहदरबारले पनि आफ्नो क्षेत्रको भाषा, कला, संस्कृतिको संरक्षणका विशेष ध्यान दिनुपर्ने उनको भनाई छ । ‘के दुई रेसा सडक खन्नु मात्रै विकास हो ? के हाम्रा पुर्खाले छोडेको संस्कृतिको विकास विकास होइन ? यो कुरा जबसम्म घरआगनका सिंहदरबारले बुझ्दैनन्, तबसम्म काठमाडौँले बुझ्दैन’ स्थानीय सरकारलाई प्रश्न गर्दै रिजालले भने । 

रिजालसँगै वक्ताको रूपमा थिए अर्को साहित्यका अध्येता तथा लेखक मोतीराज बम । उनले पनि यो प्रश्न गम्भीर रहेको बताए । ‘कर्णाली लोक संस्कृति र लोक साहित्य हराउँदै गएको छ । संस्कृति हाम्रो पहिचान, स्वाभिमान हो,’ लेखक बमले भने, ‘आजका युवाहरूले यो कुराको संरक्षण गर्नुपर्छ । संस्कृतिलाई सम्पदाको रूपमा लिनुपर्छ ।’

पछिल्लो पुस्ताले चासो नदिएकै कारण कर्णालीको लोक संस्कृति हराउँदै गएको उनको ठहर छ । मानव विकाससँगै संस्कृतिको विकास पनि गर्न अपरिहार्य रहेको लेखक बमले बताए । उनले भाषा र सभ्यताको उद्गम थलो कर्णालीको लोक संस्कृति बृहत् रहेको र यसलाई अझै उत्खनन र संरक्षण गर्नुपर्नेमा जोड दिए । 

उक्त कार्यक्रमको सहजीकरण लेखक तथा लोक साहित्यका अध्येता नारायण तिमिल्सेनाले गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise