-शंकर भण्डारी
नेपाली जनताको अपार समर्थनमा सरकार निर्माण गर्न सफल मुलुकको सबैभन्दा ठूलो पार्टी नेकपा अहिले आन्तरिक अन्तरसंघर्षको संक्रमणकालीन भूमरिमा फँसेको छ । संसार भरको कम्युनिष्ट आन्दोलनलाई सन्देश दिने गरी जनताको मत प्राप्त गरेको र अपार बहुमतका साथ सरकार चलाइरहेको नेकपा भित्रको विवादले समग्र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यप्रति गम्भिर चिन्ता बढाएको छ । पार्टीमा जारी विवादका कारण नेकपाका कार्यकर्ता र समर्थक मात्रै होइन नेपालमा स्थीरता र समृद्धि चाहने जो कोही नेकपा भित्रको विवादलाई नजिकबाट नियालिरहेका छन् र मुलुक कतै पुनः अस्थिरताको चंगुलमा फँस्ने त होइन, भन्ने चिन्ता गरिरहेका छन् ।
नेताहरूका बीचमा जारी स्थायी समिति बैठकबाट औपचारिक र ठोस निर्णय गर्नु अघि अविश्वास घटाएर पार्टी एकढिक्का बनाउने ब्यापक छलफल चलिरहेका त छन् छलफलको दिशा सकारात्मक छैन । खासगरी पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड लगायतका बहुमत सचिवालय र स्थायी कमिटीका नेताहरू प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष हुँदै दुवै पदबाट राजीनामा दिनु पर्ने अडानमा छन् भने ओलीले दुवै पद नछाड्ने दोहोरयाई सकेका छन् । विषयवस्तु यस्तो पेचिलो बन्दै गए पछि पार्टीका दोस्रो तहका नेताहरू पार्टीलाई फुटको संघारबाट जोगाउन लागिपरेका छन् ।
ओली नेकपा पार्टीको प्रमुख अभिभावक हुन् । यो पार्टीको पहिलो अध्यक्ष हुन् । ओलीले आफ्नो कुर्सी भन्दा वा स्पष्ट भाषामा आफ्नो पदभन्दा यो राष्ट्रको माया गर्नु पर्छ अथवा आफ्नो पार्टीको माया गर्नु पर्छ । नेकपा पार्टीको विभाजनको अवस्था आएमा उनले पार्टी अध्यक्ष परित्याग गर्नुपर्छ त्यति मात्रले नपुगे प्रधानमन्त्री पद पनि परित्याग गर्नुपर्दछ । दुईवटै पद परित्याग गरेर पनि नेकपा पार्टीलाई सुदृढीकरण, सवलीकरण र नेपालको राम्रो पार्टी बनाउन प्रयास गर्नु उपयुक्त हुन्छ । दुवै पद परित्याग गरेर पनि लाखौं कार्यकर्ताको भावना अनुसार चल्ने हो भने उनी कम्युनिष्ट पार्टीको आदर्श व्यक्तित्वको रूपमा अग्र पंक्तिमा आउँछन् । यदि उनले कुनै पनि पद परित्याग नगरी यो पार्टी विभाजन हुन पुग्यो भने कम्युनिष्ट आन्दोलनको इतिहासमा उनलाई कलंकको रूपमा गनिने छ ।
ओलीले दुई वटा पद मध्ये एउटा छोडन जरुरी देखिन्छ । कि उनले पार्टी अध्यक्ष छोडेर अर्काे व्यक्तिलाई हस्तान्तरण गर्ने आफू प्रधानमन्त्री मात्र भई राख्ने । पंक्तिकारको विचारमा यो देश अस्थिरताबाट गुज्रेको कारणले ५ वर्ष नै ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता दिने तर उनले पार्टी अध्यक्ष पद छाडने । त्यो पार्टी अध्यक्ष पदमा प्रचण्ड र माधव नेपाललाई हस्तान्तरण गरी नेकपा पार्टीको सबै नेताहरूको सम्मान गर्दा उचित होला कि ?
यदि उनले पार्टी अध्यक्ष पनि प्रधानमन्त्री पद पनि त्याग गर्न सकेनन् भने आफूभित्रको अहंकार, घमण्ड, स्वेच्छाचारी प्रवृत्तिलाई परित्याग गरेर एउटा उच्च स्तरीय राजनीतिक संयन्त्र बनाई त्यो संयन्त्र मार्फत सरकार चलाउने गरी अगाडी बढ्छु भन्ने प्रतिबद्धता गर्नुपर्छ ।
ओलीले स्थायी कमिटीले गरेका निर्णय मान्न तयार हुनेपर्छ किनाकी कम्युनिष्ट पार्टीमा लामो समय संघर्ष गरेर शीर्ष तहमा पुगेका व्यक्तिले पार्टी पद्धचती विपरीत जान हुँदैन । सामूहिकताको आधारमा चल्ने नेकपा पार्टीलाई फुटबाट जोगाउन नेताहरूको सामुहिकताको आधारमा पार्टी पनि चलाउने र सरकार पनि सञ्चालन गर्नुपर्छ र यसको सुरुवात ओलीले नै गर्दा पार्टीमा आगामी दिनमा हुनसक्ने क्षति न्यूनिकरण गर्न सकिन्छ । यसो गर्दा सबै नेताहरूको अपनत्व हुन सक्दछन् । व्यक्तिवादी, स्वेच्छाचारी तरिकाले भन्दा सामुहिकताको आधारमा निर्णय गर्दा सबैको भावना, बुद्धि विवेक पनि समेटिएको हुन्छ । नेकपा पार्टीलाई सामुहिकताको आधारमा चलाएर अघि बढछु भन्ने प्रतिवद्दताका साथ व्यवहारमा ओलीले देखाउन सके अहिलेको पार्टी भित्रको संकट टर्न सक्छ । तर अहंकार सोचबाट अगाडि बढ्यो भने नेकपाको दुर्घटना कसैले रोक्न सक्दैन ।
हालको मन्त्रिपरिषदमा गएका कतिपय मन्त्रिहरूलाई राजीनामा गर्न लगाएर सरकार राम्रोसँग सञ्चालन गर्न सक्ने व्यक्तिलाई मन्त्री पदमा लिने, त्यो पनि सबै नेताहरूको सम्मान हुने गरी र राम्रो काम गर्न सक्ने व्यक्तिलाई जिम्मेवारी दिँदा एक हदसम्म पार्टीको फुटको दुर्घटना टर्न सक्छ । मन्त्रिपरिषद हेरफेर गर्दा पार्टीको निर्णयको आधारमा गर्दा झनै राम्रो हुन्छ । मन्त्रीको कार्यक्षमता, योग्यता, जनताका बीचमा उसको मन्त्रालयबाट कति राम्रा कामहरू भए भनेर मूल्यांकम गरेर निचोडमा पुग्नुपर्दछ । तर मेरो गुटको होस, मेरो यस म्यान हो भनेर जे गर्दा पनि बचाउ गर्न थाल्यो भने झनै समस्या आउन सक्छ । तसर्थ मन्त्रिपरिषद हेरफेर गरेर सबैको सामुहिकताको आधारमा निर्णय गरेर अघि बढयो भने पार्टीको फुटको अवस्था टर्न सक्छ ।
नेकपा पार्टी चरम संकटमा जानुको कारण पार्टीमा विधि, पद्दति, विधान अनुसार र शक्ति सन्तुलन नमिलाउनु पनि हो । नेकपा पार्टी नेता नै नेता भएको ठूलो पार्टी हो । यो पार्टीमा ४ जना त प्रधानमन्त्री भइसकेका पार्टीका अध्यक्ष÷महासचिव भइसकेका नेता मात्र छन्। अझ धेरै पुराना अनुभवी नेताहरूको संख्या पनि कम छैन । त्यसैले पार्टीभित्रको शक्ति सन्तुलनलाई मध्य नजर गर्नुपर्ने देखिन्छ । जस्तो केपी ओली पक्षधरको मुख्यमन्त्री छन् भने त्यो प्रदेशको पार्टी इन्चार्ज प्रचण्ड पक्षधरको या माधव पक्षधरको वा झलनाथको पक्षधरको व्यक्तिलाई जिम्मेवारी दियो भने शक्ति सन्तुलन मिल्न सक्छ । कि त सबै नेताहरूका गुटहरूमा आगो सल्काएर जलाउनु पर्यो र पार्टीलाई विधि पद्दतिको मापदण्डअनुसार हरेक व्यक्तिलाई जिम्मेवारी दिनु प¥यो हैन भने शक्ति सन्तुलन मिलाउन जरुरी देखिन्छ ।
नेकपाको ९ जनाको सचिवालय निर्माण भएदेखि नै चरम असन्तुष्टि बढेको थियो । सचिवालय बनाउने क्रममा नै प्रतिशोध तरिकाले सिनियर नेताहरूको अपमान गर्ने काम गरियो । विधि, पद्दति भन्दा आफुलाई मन परयो भने सचिवालयमा राख्ने मन परेन भने सिनियर नेतालाई जुनियर नेताको मातहतमा राख्ने कार्य गरियो तसर्थ कि यो सचिवालय भंग गर्नु पर्दछ हैन भने १७ जना सम्मको सचिवालय बनाएर सबैको सम्मान गर्नु आजको आवश्यकता हो ।
केपी ओली, प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमलगायतका शीर्ष नेताहरुले सम्पूर्ण स्वार्थहरू परित्याग गरेर अब पार्टीको अभिभावक भएर बस्नु पर्छ । कुनै कार्यकारी पदमा बस्दैनौ तर पार्टीलाई कुनै हालतमा फुटन दिँदैनौ भनेर आफ्ना व्यक्तिगत स्वार्थलाई परित्याग गरी दोस्रो पुस्ताका नेताहरूलाई जिम्मेवारी सुम्पिने निर्णय गरे भने नेपालको कम्युनिष्ट आन्दोलनमा उनीहरुका नामहरू स्वर्णिम अक्षरले लेखिने छन् । नेपालको इतिहासमा कम्युनिष्टका नेताहरू महान रहेछन भनेर युगौ युगसम्म नेपाली जनताले पनि सम्झिरहने थिए । यो साहस गर्न ढिला भइसक्यो । तसर्थ नेकपा पार्टीलाई फुटबाट जोगाउने हो भने सबैले आ–आफ्नो ठाउँबाट त्याग गर्न सक्नु पर्दछ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies