विराटनगर : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली जनताले लोकतन्त्रको विकल्प नखोजेको बताएका छन् ।
विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनताले पटकपटक तानाशाह र निरंकुश शासन व्यवस्था अनुभूत गरिसकेकाले लोकतन्त्रको विकल्प नसोच्ने बताए । उनले पूर्वराजा ज्ञानेन्द्र शाहले हालै प्रजातन्त्र दिवसको अवसरमा दिएको वक्तव्यमाथि पनि टिप्पणी गरे । ‘गणतन्त्रमा बोल्ने छुट सबैलाई छ । बोलेकै आधारमा पूर्वराजाको मुख थुन्ने काम हुँदैन’, महामनत्री थापाले भने ।
‘गणतन्त्रको सुन्दर पक्ष भनेको पूर्वराजाले पनि नागरिकको हैसियतमा आफ्ना मत राख्ने स्वतन्त्रता पाउनु हो । विगतमा पूर्वराजाको शासनकालमा राष्ट्रद्रोहको मुद्दा हामीले बोलेकै भरमा झेलेका हौं’, उनले भने ।
पूर्वराजालाई आफ्ना मत जाहेर गरेकै भरमा पक्राउ गर्ने वा मुखबन्द गर्ने कार्य गर्न नहुने पनि उनले बताए । प्रजातन्त्रमा नागरिकले मुलुकको व्यवस्थाप्रति नभई सरकारको काम कारबाहीप्रति असन्तुष्टि जनाउने गरेको भन्दै उनले निर्वाचनको माध्यमबाट त्यो असन्तुष्टि व्यक्त हुने गरेको धारणा राखे । ‘यसर्थ पार्टीका नेता तथा कार्यकर्ताले गुट उपगुट नबनाई जनताको सर्वोपरी हितका लागि क्रियाशील हुनुपर्छ’, महामन्त्री थापाले भने ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशका सम्बन्धमा सत्तामा रहेका दलहरूसँग छलफल गरिरहेको र केही दिनभित्रै समझदारी हुने विश्वास व्यक्त गरे । नेपाली कांग्रेसको महाधिवेशनको प्रक्रिया सुरु भइसकेको र विधानले तोकेको सीमाभित्रै सबै प्रक्रिया पूरा हुने पनि महामन्त्री थापाको भनाइ थियो ।