२०८१ फागुन १० गते शनिवार / Feb 22 , 2025 , Saturday
२०८१ फागुन १० गते शनिवार
Ads

शासन सत्ता पकडमा राखेर एमाले-कांग्रेसले तराई-मधेशमा अन्याय गरे : उपेन्द्र यादव

hardik ivf
तिलु शर्मा पौडेल
२०८१ फागुन ९ गते १८:४८
शासन सत्ता पकडमा राखेर एमाले-कांग्रेसले तराई-मधेशमा अन्याय गरे : उपेन्द्र यादव

दोहा, कतार : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले शासन सत्ता आफ्नो पकडमा राखेर तराई-मधेशमा नेपाली कांग्रेस र नेकपा एमालेले अन्याय गरिरहेको आरोप लगाएका छन् ।

नेपाली समाज कतारले आयोजना गरेको भेटघाट, सम्मान तथा शुभकामना कार्यक्रममा अध्यक्ष यादवले सत्ताको बागडोर सम्हालेर नागरिकताविहीन नागरिकलाई नागरिकता प्रदान गर्ने नाममा लाखौं नागरिकलाई अंगीकृत नागरिकता प्रदान गरेर दोस्रो पुस्तालाई वंशजको नागरिकताबाट वञ्चित गरेको बताउँदै तराईका जनतामाथि राष्ट्रले पटक-पटक अन्याय गरेको बताए ।

यादवले तराई-मदेशका जनताले आफ्नो हक हित र अधिकारका लागि बोल्दा मात्र पनि मधेशी, धोती र इन्डियनको ट्याग लाग्ने गरेको बताउँदै नेपालभित्र नेपाली भएर बाँच्न पाउने अधिकार सुरक्षित र सुनिश्चितताका लागि मधेश आन्दोलनको अपरिहार्यता परेको स्मरण गरे । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका यादवले देशको शासन प्रणालीले दुईतिहाई जनताको अधिकारको उपेक्षा गर्दा विकास नभएको दाबी गरे । नेपालमा बनेका सरकारले शान्ति, स्थिरता र विकासमा समेत विभेद गर्ने गरेको बताए । उनले विभेदले विद्रोह पैदा गर्ने हुँदा मिथिला संस्कृति नेपालभन्दा आफैंमा पुरानो भएको जिकिर गरे । 

प्रवास संगठनका रूपमा रहेको नेपाली समाज कतारका अध्यक्ष मनीष यादवको सभाध्यक्षतामा बिहीबार साँझ सम्पन्न कार्यक्रम सहभागीहरूको परिचयसहित अगाडि बढाइएको थियो । कार्यक्रममार्फत प्रमुख अतिथि यादवसहित कार्यसमितिका पूर्व पदाधिकारीहरू, सल्लाहकार, वर्तमान पदाधिकारी तथा पत्रकारलाई सम्मान गरिएको थियो । कार्यक्रममा समाजका अग्रज तथा सल्लाहकारहरू सहित विभिन्न व्यक्तिहरूले शुभकामना तथा शुभेच्छा स्वरूप आफ्ना भनाइ राखेका थिए । 

समाजका सचिव इशिलाल पण्डितले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभाध्यक्ष यादवले कतारमा आफ्नो पेसाबाट बचेको समयलाई सेवाका रूपमा वैचारिक संगठनमार्फत राष्ट्रका लागि खर्चिएको बताउँदै गलत भ्रमात्मक समाचार र सामाजिक सञ्जालका पछि नलाग्न जसपामा आस्थावानहरुलाई आग्रह गरे । उनले आफ्ना हक अधिकारका लागि सकारात्मक आवाज विश्वबाट उठाउन सकिने हुँदा प्रवासमा रहेर आफ्नो परिवारसहित राष्ट्रको समुचित विकास र सेवामा खर्च गर्न आग्रह गरे ।

यादवले मधेशी अधिकार सम्पन्न हुँदा मात्र नेपाली बनिने नत्र मधेशीकै ट्याग लाग्ने हुँदा नेपालभित्र आम नेपाली सरह सबैले स्थान पाउनुपर्नेमा आफू सचेत र सजग रहेको बताउँदै उपस्थितलाई धन्यवाद ज्ञापन गरे । समाजकी उपाध्यक्ष देवी मगरले कार्यक्रममा स्वागत मन्तव्य राखेकी थिइन् ।

ADV

सम्बन्धित खबर

Advertise