झापा : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले ओली नेतृत्वको सरकार भ्रष्टाचार र प्रतिगमनको संरक्षक रहेको टिप्प्णी गरेका छन् ।
‘यो सरकार अलोकतान्त्रिक हो । यो निरंकुश सोच र प्रवृत्ति भएको तानाशाही सरकार हो । लोकतन्त्रमा दुनियाँमा कहीँ पनि अपवाद र ठूलो विपद्को बेलामा बाहेक पहिलो र दोस्रो ठूलो दल मिल्दैनन्’, उनले भने ।
माओवादीले अहिलेको सरकार ढाल्ने र नयाँ बनाउने केही नसोचेको बताउँदै अब आफ्नै खुट्टामा उभिएर चुनाव लड्ने र जनताको तागत लिएर सरकारमा जाने उनले बताए । जनताको तागत लिएर सरकारमा गएपछि माओवादीले भ्रष्ट र दलालहरुलाई नछोड्ने पनि उनले बताए ।
माओवादी केन्द्रले सोमबारदेखि सुरु गरेको ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियानका क्रममा झापाको दमकमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले प्रतिक्रान्तिको खतरा बढ्दै गएको बताए । ‘झापा विगतमा क्रान्तिको प्रतीकका रूपमा चिनिएको थियो,’ दाहालले भने, ‘अहिले भने झापाबाटै प्रतिक्रान्तिको खतरा बढेको छ ।’
ओलीप्रति लक्षित गर्दै उनले प्रतिक्रान्तिको खतराबाट देशलाई जोगाउन सबैलाई अपिल गरे ।संविधानमा स्थापित संघीयता, गणतन्त्र, महिला, आदिवासी, दलित, मधेशी र मुस्लिमका अधिकारको खिलाफ ओलीको दृष्टिकोण अग्रसर बन्दै गएको आरोप उनले लगाए ।
‘हिजो क्रान्तिको केन्द्र भएको र आज प्रतिक्रान्तिको केन्द्र हुने खतरा रहेको झापालाई फेरि क्रान्तिकै केन्द्र बनाउनका लागि तपाईँहरूसँग अपिल गर्न, यहाँको जनतासँग अपिल गर्न आएका छौँ,’ दाहालले भने ।
यस्तै दाहालले झापा विद्रोहका नेताहरूले पछिल्लो समय क्रान्तिको धार छाडिसकेको टिप्पणी गरे ।