काठमाडौं : नेकपा (माओवादी केन्द्र)को तराई–मधेश जागरण अभियानको सुरुआत भएको छ । झापाको कचनकवलको बनियानीबाट तराई–मधेश जागरण अभियान उद्घाटन गर्दै नेताहरूले जनतासँग जोडिने एक मात्र चाहना रहेको उद्घोष गरे ।
माओवादी आन्तरिक किचलोमा समेत छ । खासगरी बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिवद्धय वर्षमान पुन र जनार्दन शर्मा माओवादीमा गुटगत राजनीतिमा छन् । यो बेला प्रचण्डले यी सबै नेताहरूलाई एकसाथ लिएर अभियान सुरुआत गरेका हुन् ।
तराई–मधेश जागरण अभियानको सुरुआत गर्दै गर्दा माओवादी नेताहरूले एक स्वरमा जनतासँग जोडिने चाहना रहेको बताए । साथसाथै माओवादीभित्रको आन्तरिक विवादसमेत पहिलो दिन नै छचल्कियो ।
बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ बोल्न समय कम भएको भनेर बिदा भएको दृश्यले नै माओवादीमा नेताहरूको गुटगत राजनीतिक कुन हदमा छ भन्ने देखाउँछ ।
उपमहासचिव जनार्दन शर्माले त जनताको आवाज सुन्न माओवादीको नेतृत्वको टिम नै बदलिन जरुरी रहेको भनेर प्रचण्डसहितका नेता केन्द्रित अभिव्यक्ति दिए ।
‘यो समाजमा विभेद बाँकी छ । १८ वर्षमा हामी कतै थोरै अलमलियौं । कतैतिर हामीले यी एजेन्डाहरू छोड्यौं’, उपमहासचिव शर्माले भनेका छन् ।
उनी अगाडि थप्छन्, ‘हाम्रा कामहरू बाँकी छन् । यस कारण हामीले हाम्रा एजेन्डा छोड्यौं कि कतै भनेर समीक्षा ग¥यौं र समीक्षा गर्ने प्रयत्न गरिरहेका छौं ।’
आत्मसमीक्षाको प्रक्रियाअन्तर्गत तराई–मधेश जागरण अभियानमा निस्किएको उनले बताए । तर, तमाम काम गर्नका लागि र पार्टीले एजेन्डा पूरा गर्न नेतृत्व आफैंले आफैंलाई रूपान्तरण गर्न जरुरी रहेको बताए ।
शर्मा भन्छन्, ‘माओवादी नेतृत्वको यो टिमले आफैंले आफैंलाई रूपान्तरण गर्नु छ, आफैंले आफैंलाई बदल्नु छ ।’
माओवादी नेतृत्व टिम नै बदलिने हो भने जनताको आवाजको नेतृत्व गर्न नसकिने उनले बताए ।
जनताका अनेक समस्या रहेको उनले स्मरण गरे । शिक्षा, स्वास्थ्य उपचारमा सेवामा समस्या रहेको बताए । संविधानले नै शिक्षा र स्वास्थ्यलाई मौलिक हकका रूपमा स्थापित गरेको छ । तर, यो मौलिक हक जनताले पाउन सकिरहेका छैनन् । शिक्षा महँगो छ, स्वास्थ्य महँगो छ ।
रोजगारीको अवसरसमेत नागरिकले पाउन नसक्ने अवस्था रहेको शर्माले बताए । संवैधानिक अधिकार नागरिकलाई दिलाउन र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्दै मुलुकको नेतृत्व गर्नका लागि माओवादी नेतृत्व बदलिन आवश्यक रहेको उनले पुनः दोहोर्याए ।
यी सब कुराहरू गर्नका लागि माओवादी पार्टी, माओवादी पार्टीको नेतृत्वको यो टिम बदलिनुपर्ने उनको भनाइ छ । अन्यथा, माओवादीले पनि केही गर्न नसक्ने उनको चेतावनी छ ।
शान्ति प्रक्रियायता लामो समयसम्म सत्तामा रहेको माओवादी केन्द्र प्रमुख प्रतिपक्षको भूमिकामा पुगेसँगै देशव्यापी अभियानमा निस्केको हो । ‘जनतासँग माओवादी, तराई–मधेश जागरण अभियान’ नाम दिइएको यो अभियान आगामी ७ चैतमा कंचनपुर पुगेर अभियानको समापन हुने छ ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने विगतका आफ्ना कमीकमजोरीप्रति समीक्षा गर्दै गल्ती सच्याएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले बारबार भन्दै आएका छन्, ‘गल्ती सच्याउँछौं, साथ दिनुस् ।’
मंगलबार सुनसरीमा कार्यक्रम हुने छ । मधेश प्रदेशअन्तर्गत सप्तरीमा १६ फागुन, सिरहामा १७ फागुन, धनुषामा १८ फागुन र महोत्तरीमा १९ फागुनमा कार्यक्रम हुने छ ।
सर्लाहीमा २१ फागुन, रौतहटमा २२ फागुन, बारामा २३ फागुन, पर्सामा २४ फागुनमा कार्यक्रम हुने छन् । बाग्मती प्रदेशअन्तर्गत चितवनमा २६ फागुनमा कार्यक्रम हुने छ ।
गण्डकी प्रदेशअन्तर्गत नवलपुर (नवलपरासीपूर्व)मा २६ फागुन, लुम्बिनी प्रदेशअन्तर्गत परासी (नवलपरासी पश्चिम)मा २७ फागुन, रुपन्देहीमा २८ फागुनमा अभियानअन्तर्गतका कार्यक्रम हुने छन् ।
कपिलवस्तुमा २ चैत, दाङमा ३ चैत, बाँकेमा ४ चैत, बर्दियामा ५ चैतमा कार्यक्रम हुने छ । सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलालीमा ६ चैतमा कार्यक्रम हुने छ । ७ चैतमा कंचनपुरमा कार्यक्रम हुने छ र तराई–मधेश जागरण अभियान समापन गरिने छ ।
अभियानको स्वरूपअन्तर्गत जनसभा, चोकसभा, अन्तरक्रिया, जनभेटघाट हुने छ । अभियानको क्रममा कार्यक्रम गर्ने स्थानहरूको निर्धारण सम्बन्धित प्रदेश तथा जिल्लाहरूले तय गरेबमोजिम हुने छ । बिहान, दिउँसो र बेलुका गरी स–साना ३ वटा कार्यक्रम तय गरिएका छन् ।
अभियान टोलीमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू, महासचिव र उपमहासचिवहरूका साथै सांस्कृतिक टोलीहरू रहने छन् ।
यसअघि गत पुस २१ गतेदेखि २३ गतेसम्म बसेको पार्टीको केन्द्रीय समितिको बैठकले मुलुकको राष्ट्रिय राजनीतिक परिस्थिति र पार्टीको नीति कार्यक्रमलाई जनस्तरसम्म पुर्याउने निर्णय गरेको थियो । त्यस अन्तर्गत पूर्व–पश्चिम हुलाकी मार्ग केन्द्रित तराई मधेश जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
तराई मधेश जागरण अभियान पछि २०८२ साल वैशाख महिनामा मध्यपहाडी लोकमार्ग केन्द्रित पूर्व–पश्चिम जागरण अभियान सञ्चालन गर्ने माओवादीको निर्णय छ ।