काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र कुनै मतभेद नभएको प्रष्टीकरण दिएका छन् ।
मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा आयोजित आमसभालाई एकताबद्ध भएर पार्टी निर्माणको संकल्प गरेर हिँडेको बताएका हुन् ।
उनले भने, ‘केन्द्रीय कमिटीको बैठकबाट सर्वसम्मत रूपले जनतामा जाने गरेका हौँ । तपाईँहरूले यहाँ नेताहरूको टिम देख्नुभएको छ । यहाँ कसैको पनि विमति र मतभेद छैन । हामी जनताको तागतको बलमा सत्ताको नेतृत्व लिने संकल्प गरेका छौँ । कहिले काँग्रेससँग, कहिले एमालेसँग समीकरण गरेर माओवादीलाई घाटा मात्रै उनीहरूलाई फाइदा मात्रै भयो । त्यो भूल अब हामी गर्दैनौँ ।’
उनले अहिले संख्याको बलमा जनताले पाएको अधिकार खोस्ने षड्यन्त्र भइरहेको दाबी गरेका छन् ।