काठमाडौं : एमालेबाट निलम्बित केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले माओवादी केन्द्रका सचिव राम कार्कीसँग भेट गरेकी छन् ।
१० पुसमा एमालेको ६ महिने निलम्बनमा परेकी तिम्सेनाले बिहीबार झापामा नेता कार्कीसँग भेट गरेकी हुन् । कार्कीसँग भेटपछि तिम्सेनाले माओवादी प्रवेश गर्न सक्ने आशंका गरिएको छ ।
तर, नेता कार्कीसँग आफ्नो सामान्य कुराकानी भएको तिम्सेनाले बताइन् । ‘राम दाइसँग हामी भेटिरहन्छौँ । उहाँको निर्वाचन क्षेत्र झापा हो, यहाँ रहँदा र समय मिल्दा हामी भेट्ने गरेका छौँ,’ तिम्सेनाले भनिन् ।
माओवादी प्रवेश गर्न लागेको पत्रकारकोे जिज्ञासा उनले भनिन्, ‘त्यस्तो केही होइन । म माओवादीमा जानेबित्तिकै ठूलै केही भइहाल्छ र ? निलम्बन र यो भेटबारे केही साइनो–सम्बन्ध छैन । कन्युनिष्ट आन्दोलनबारे कुराकानी भयो, अरु केही थिएन ।’
उषाकिरणसहित अर्की नेता विन्दा पाण्डेलाई १० पुसमा बसेको एमाले सचिवालय बैठकले ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेको थियो । त्यसयता उनीहरू पार्टीको काममा छैनन् ।