काठमाडौं : आन्तरिक रोजगारीमा वृद्धि गरी वैदेशिक रोजगारीमाथिको बढ्दो निर्भरता कम गर्ने मुख्य लक्ष्यसहित राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सुरु हुँदै छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राजधानीमा उद्घाटन गर्ने तय भएको पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन मूलतः नेपालमा श्रम शक्तिको उपयोग गर्न सिर्जनात्मक रोजगारी बढाउने क्षेत्रको पहिचान तथा प्रवर्द्धन र वैदेशिक रोजगारीबाट प्राप्त सीप, ज्ञान र पुँजीको यथोचित प्रयोगमा केन्द्रित रहने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
सम्मेलनका लागि श्रम सचिव डा. कृष्णहरि पुष्करको संयोजकत्वमा मूल समारोह समिति बनाइएको छ । सम्मेलनका लागि ‘उत्पादन र उत्पादकत्व विस्तार, आन्तरिक रोजगारीको दिगो आधार’ नारा तय गरिएको छ ।
सम्मेलनमा रोजगारी सिर्जना गर्ने भूमिकामा रहेका नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल होटल संघ, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, ट्रेड युनियन प्रतिनिधि, नेपाल सुन–चाँदी व्यवसायी संघ, रिटर्नी कामदारलगायत करिब ३ दर्जन संस्था र विज्ञहरूसहित ५०० जनाको सहभागिता रहने पनि मन्त्रालयले जनाएको छ ।
मंगलबार समापन हुने सम्मेलनमा आन्तरिक रोजगारी सिर्जनाका लागि सम्भावित क्षेत्रको पहिचान र प्रवद्र्धन, नेपालमा रोजगार सेवा तथा सुविधाको विकास र विस्तार, श्रम आप्रवासन व्यवस्थापनका विविध आयामहरू, वैदेशिक रोजगारीमा लैंगिक मुद्दाहरू, वैदेशिक रोजगार व्यवसायका चुनौती र सुधारसहित प्राप्त पुँजी प्रविधिको उत्पादनमा प्रयोग, सूचना प्रविधिको विकासमा नेपालको संभावना र रोजगारी सिर्जना शीर्षकमा आधा दर्जन बढी प्यानल छलफल गरिने तयारी छ ।
मन्त्रालयले आन्तरिक रोजगारीको वृद्धिका लागि यसअघि २०५४, २०६१, २०६९ र २०७६ साल गरी ४ पटक श्रम तथा रोजगार सम्मेलन गरिसकेको छ । तर, कोरोना भाइरस (कोभिड– १९) को विश्वव्यापी महामारीले ती सम्मेलनले निर्दिष्ट गरेका लक्ष्य प्राप्तिमा व्यवधान उत्पन्न भई निरन्तर रूपमा वैदेशिक रोजगारमा नै निर्भर हुनुपरेका कारण यस पटक आन्तरिक रोजगारका सम्भावना केलाउन बृहत् आकारको सम्मेलन गर्नुपरेको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरे बताउँछन् ।
हाल नेपालको रोजगारीको क्षेत्रमा संकुचन देखापरेको मन्त्रालयको निष्कर्ष छ । आन्तरिक रोजगारी सिर्जनामा देखिएको संकुचनको अन्त्य गर्दै आगामी दिनहरूमा देखापर्ने नयाँ रोजगारीका क्षेत्र पहिचान तथा व्यवस्थापनका लागि ठोस राय सुझाव प्राप्त गर्नु पनि सम्मेलनको मुख्य उद्देश्य रहेको उनले बताए ।
उनले ठोस उपलब्धि हासिल गर्नकै लागि सम्मेलनमा रोजगारी सिर्जनासँग सम्बन्धित नेपाल सरकारका ३ वटै तह, श्रम तथा रोजगार विषयसँग सम्बन्धित व्यवसायी र अनुसन्धानकर्ता, विषय विज्ञ, विकास साझेदार, निजी क्षेत्र, ट्रेड युनियन, गैरसरकारी क्षेत्रका विज्ञलाई सहभागी गराइएको जिकिर गरे ।
मन्त्रालयले रोजगारदाता र कामदारको समन्वय गराई तत्कालै अर्थात् ‘अन द स्पोट’ रोजगारी दिलाउने भन्दै करिब १ वर्षअघि श्रमाधान रोजगार मेला आयोजना गरेको थियोे । तर, त्यसले आन्तरिक रोजगारीमा अपेक्षाअनुसारको वृद्धि हुन सकेन । वैदेशिक रोजगारमाथिको निर्भरता यथावत् छ ।
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिएर ७ लाख १४ हजार २९७ जना नेपालीले वैदेशिक रोजगारीमा जानुपर्यो । चालू आर्थिक वर्षको ७ महिनामा मात्र पनि ३ लाख ५ हजार ५५२ जना वैदेशिक रोजगारीमा गएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा उनीहरूले ८ अर्ब ३९ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स पठाए । यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा २१ दशमलव ६ प्रतिशतले बढी हो ।
केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ । १५ देखि ६५ वर्ष उमेर समूहलाई नेपालको श्रम बजारमा श्रम शक्ति मान्ने गरिएको छ । मन्त्रालयले हाल त्यस्तो जनशक्ति कुल जनसंख्याको ६७ प्रतिशत छ । अर्थात्, १ करोड ९५ लाख बढीको जनसंख्या श्रम शक्तिको रूपमा सक्रिय छ ।
श्रम मन्त्रालयले वर्तमान समयको जानसांख्यिक लाभको आन्तरिक श्रम बजारमा प्रयोग हुन नसकेको बताएको छ । उपयुक्त सीप र रोजगारीको अभावमा ठूलो समूह निष्क्रिय अर्थात् बेरोजगार र अर्धबेरोजगारको अवस्थामा रहेकोे विज्ञहरू बताउँछन् । अन्तर्राष्ट्रियस्तरमा सामान्यतया कृषिबाट उद्योग र उद्योगबाट सेवामा रूपान्तरण हुने मान्यता छ तर नेपालमा उद्योग क्षेत्रमा सुधार नहुँदा कुल गार्हस्थ्य उत्पादनमा कृषिको योगदान घट्दै गएर सेवा क्षेत्रको योगदान बढेको छ । यसले नेपाली अर्थतन्त्र र रोजगारीका मान्यता र संरचनामा परिवर्तन देखाएको छ ।
सम्मेलनमार्फत वैदेशिक रोजगारी र आन्तरिक रोजगारीका क्षेत्रमा रहेका चुनौतीहरूको विश्लेषण गरी नीतिगत सुधार र कानुनी व्यवस्थाहरूमा परिमार्जनका लागि सुझाव लिई रोजगारयोग्य वातावरण सिर्जना गर्ने विषयलाई बढी केन्द्रित गर्ने प्रवक्ता घिमिरेको भनाइ छ ।