२०८२ चैत ६ गते शुक्रवार / Mar 20 , 2026 , Friday
२०८२ चैत ६ गते शुक्रवार
Ads

आर्थिक क्षेत्रमा आक्रमणपछि खाडीमा उच्च त्रास

shivam cement
२०८२ चैत ६ गते ०६:१५
Shares
आर्थिक क्षेत्रमा आक्रमणपछि खाडीमा उच्च त्रास

काठमाडौं : इरानले आफ्ना छिमेकी खाडी मुलुकमा अहिलेसम्मकै घातक हमला गरेको छ । इरानी आक्रमणले युएई, कतार र साउदी अरेबियामा रहेका लाखौं नेपाली थप त्रासमा परेका छन् । 

३ करोड १० लाखभन्दा बढी आप्रवासी कामदार रहेको त्यस क्षेत्रमा १९ लाखभन्दा बढी नेपाली वैधानिक हैसियतमा कार्यरत छन् । सैन्य केन्द्रहरू छोडेर ग्यास उत्पादन क्षेत्रमा आक्रमण भएपछि युद्ध आर्थिक मेरुदण्ड ध्वस्त पार्ने नयाँ र खतरनाक चरणमा प्रवेश गरेको विश्लेषण गरिएको छ ।

इरानी क्षेप्यास्त्रहरूले कतारको रास लाफानमा रहेको आफ्नो मुख्य ग्यास रिफाइनरीहरूमा व्यापक क्षति पुर्‍याएपछि कतारले इरानी सुरक्षा र सैन्य सहचारीहरूलाई देश छोड्न आदेश दिएको छ ।

इरानी आक्रमणपछि युएईले अबुधाबीमा रहेको हब्सान रिफाइनरीहरू बन्द गरेको छ भने साउदी अरेबियाले आफ्ना दुई रिफाइनरीहरूमा पनि आक्रमण भएको बताएको छ ।
साउदी अरबले इरानसँग बाँकी रहेको थोरै विश्वास पूर्ण रूपमा चकनाचुर भएको बताएको छ ।

इजरायलले उत्तरी बन्दर अन्जाली र दक्षिण पार्स ग्यास क्षेत्रमा इरानको नौसेनामा आक्रमण गरेपछि यो घटनाक्रम भएको हो । इरानी राष्ट्रपति मसुद पेजेस्कियानले सम्पूर्ण विश्वलाई प्रभावित पार्न सक्ने अनियन्त्रित परिणामहरूको चेतावनी दिएका छन् ।

एक जर्मन विश्लेषक भन्छन्, ‘साउथ पार्स ग्यासफिल्डमा इजरायली आक्रमण तथा कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्समा ऊर्जा क्षेत्रहरूमा प्रतिशोधात्मक इरानी आक्रमणपछि इरान युद्ध ऊर्जा पूर्वाधार चरणमा प्रवेश गरेको छ ।’

जर्मन इन्स्टिच्युट फर इन्टरनेसनल एन्ड सेक्युरिटी अफेयर्सका भिजिटिङ फेलो हमिदरेजा अजीजी भन्छन्, ‘इजरायलको आक्रमणले विशुद्ध सैन्य सम्पत्तिको सट्टा देशको आर्थिक मेरुदण्डलाई लक्षित गर्ने दिशामा परिवर्तन भएको छ, यो डरलाग्दो छ ।’

उनले खाडीभरि इरानको प्रतिशोधात्मक आक्रमणले ऊर्जा टकरावलाई क्षेत्रीयकरण गर्ने र ऊर्जा बजारमा अतिरिक्त दबाब दिएर यसको प्रभावलाई विश्वव्यापीकरण गर्ने रणनीतिको संकेत गरेको बताएका छन् ।

इरानको विस्तारित प्रतिशोधले यसको रणनीतिक सोचमा परिवर्तनलाई प्रतिबिम्बित गरेको भन्दै उनले इरानले आफ्ना विरोधीहरूले तोकेको सीमाभन्दा माथि बढ्ने नयाँ रणनीति अन्तर्गत काम गरिरहेको देखिएको बताएका छन् ।

विश्व खाद्य संगठनले युद्धले भोकमरी निम्त्याउने र त्यसको मारमा आप्रवासी कामदारलगायतका कमजोर समुदाय पर्ने बताएको छ । विज्ञहरूले युद्धले तेलको मूल्य प्रति ब्यारेल १५० देखि २०० अमेरिकी डलर नाघ्ने टिप्पणी गरिरहेका छन् । यस वर्षको मार्च मध्यतिर कच्चा तेलको सबैभन्दा कम अनुमानित मूल्य प्रति ब्यारेल ४९–५८ डलर रहने अनुमान विपरीत प्रति ब्यारेल २०० डलर पुगेको अवस्थामा पेट्रोलियम पदार्थको मूल्य चार दोब्बर हुने चिन्ता व्यक्त गरिएको छ ।

सम्बन्धित खबर