काठमाडौं : नेकपा (एकीकृत समाजवादी) ले राजावादी गतिविधिविरुद्ध शुक्रबार ‘विशेष कार्यक्रम’ घोषणा गर्दैछ ।
पार्टीले काठमाडौंमा पत्रकार सम्मेलन गरेर राजावादी गतिविधिविरुद्ध ‘विशेष कार्यक्रम’ घोषणा गर्न लागेको हो ।
पत्रकार सम्मेलनमार्फत आफूहरूले राजावादी गतिविधिविरुद्ध विशेष कार्यक्रम घोषणा गर्ने केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।
उनका अनुसार सम्मेलनमा राजावादीहरू किन सलबलाए र त्यसमा जनताको उपस्थिति किन रह्यो भन्नेबारे समीक्षात्मक धारणा सार्वजनिकसँगै विशेष कार्यक्रम घोषणा हुनेछ ।
‘राजावादीहरू किन सलबलाए र त्यहाँ थोरै भए पनि जनताको उपस्थिति किन देखियो ? यसका लागि त सरकार र राजनीतिक दलहरूको पनि कमजोरी होला । यसबारे हामीले संस्थागत धारणा सार्वजनिक गर्नेछौँ र थप अगाडि कसरी अगाडि बढ्ने भन्नेबारे पनि भन्नेछौँ,’ अर्यालले भने ।
२५ फागुनमा राजावादी शक्तिहरूले शक्ति प्रदर्शन गर्दै पूर्वराजा ज्ञानेन्द्रलाई अभिनन्दन गरेका थिए । झन्डै एक महिना पोखरा बसेर काठमाडौं फर्किएका पूर्वराजाको पक्षमा नाराबाजी गर्नेहरूको संख्या हजारौं थियो । यस घटनालाई लोकतन्त्रवादी दलहरूले गम्भीरतापूर्वक लिएका छन् ।