-यामबहादुर दुरा
विगतमा अमेरिकी तथा युरोपेली देशमा अनलाइन कक्षा सञ्चालन हुने गरेको प्रसङ्ग रूमानी कथाझैं सुन्न पाइन्थ्यो । घरमा बसीबसी विद्यालय, कलेज तथा विश्वविद्यालयको कक्षाकोठासँग जोडिएको त्यो प्रसङ्ग त्यतिविधि पहुँच नभएको नेपालजस्ता देशका नागरिकका लागि एउटा रोमाञ्चक गफजस्तो लाग्थ्यो । समयक्रममा नेपालमा पनि दूरसञ्चार प्रणाली र सूचना प्रविधिको विकास हुँदै गयो । त्यसपछि अनलाइन बैठक वा जमघटका प्रसङ्ग पनि विस्तारै सुनिन थाल्यो । त्यसमा पनि विश्वव्यापी महामारी कोभिड–१९ ले यस्ता अनलाइन बैठक वा जमघटका प्रसङ्गलाई ह्वात्तै सतहमा ल्याइदियो ।
अहिले, अनलाइन कक्षासम्बन्धी आलो–तातो बहस भइरहेको छ । नेपालका विद्यालय, कलेज तथा विश्वविद्यालयले भर्चुअल क्लास (अनलाइन कक्षा) सञ्चालन गर्न थालिसकेका छन् । विश्वविद्यालयहरूले अनलाइन कक्षालाई मान्यता दिँदै यो सञ्चालनसम्बन्धी निर्देशिका जारी गरी परीक्षासमेत सञ्चालन गरिसकेको छ । शिक्षा मन्त्रालयले पनि ‘विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७’ असोज १ गतेदेखि लागु गराउन स्थानीय तहहरूलाई निर्देशन दिइसकेको छ । अब, नेपालमा अनलाइन शिक्षाले वैधानिक धरातल प्राप्त गरिसकेको छ । घरमै बसेर विद्यालय, कलेज तथा विश्वविद्यालयबाट प्रवाहित ज्ञानधारा प्राप्त गर्न सकिने अनलाइन कक्षा आम विद्यार्थीका लागि तुलनात्मक रूपमा नयाँ अनुभव हो । नयाँ प्रविधि र परिपाटीसँग परिचित हुनका लागि यो बेजोड अवसर पनि हो ।
यद्यपि, यस्तो बेजोड अवसरका साथ आएको अनलाइन कक्षा नेपालीका लागि चुनौतीविहीन भने पक्कै छैन । यसले अवसरका साथ अनेकन् चुनौती लिएर आएको छ । अनलाइन कक्षाका लागि उच्च गतिको (ब्रोडब्यान्ड) इन्टरनेट, बिजुलीको निर्विघ्न आपूर्ति र कम्प्युटर वा स्मार्टफोन अपरिहार्य छ । यस पृष्ठभूमिमा हामीले आफैंलाई प्रश्न सोध्नुपर्ने बेला आएको छ, के हाम्रा यी सबै आधारभूत आवश्यकता पूरा भएका छन् ? के सबै विद्यार्थी वाइफाई, कम्प्युटर वा स्मार्टफोनको पहुँचमा छन् ? के सबै विद्यार्थी यस्ता कुरामा लगानी गर्ने हैसियतमा छन् ? के सबै शिक्षक अनलाइन कक्षा सञ्चालनका लागि प्रशिक्षित छन् ? सार्वजनिक अभिलेखहरूमा भेटिएका आँकडालाई हेर्दा अनलाइन कक्षा सञ्चालनका लागि धेरै पापड बेल्नुपर्ने अवस्था छ । अनौपचारिक आँकडाहरूले नेपालका ७४ प्रतिशत नागरिकमा इन्टरनेटको पहुँच पुगेको देखिन्छ, जुन उत्साहजनक प्रगति हो । नेपाल दूरसञ्चार प्राधिकरणको आँकडाअनुसार ७२ प्रतिशत नागरिक समक्ष इन्टरनेटको सुविधा पुगेको देखिन्छ । डेटा प्याकलाई जोड्दा इन्टरनेट पहुँचको आँकडा उच्च देखिएको हो ।
नेपालमा ब्रोडब्यान्ड इन्टरनेटको पहुँच सरदर २० प्रतिशतभन्दा माथि देखिँदैन । विश्व दूरसञ्चार युनियनको तथ्यांकलाई उद्धृत गर्दै ‘इन्टरनेट सोसाइटी’को वेबसाइटमा प्रकाशित लेख (जुन २६, २०२०) ले यही वास्तविकतालाई उजागर गर्छ । नेपालमा ग्रामीण विद्युतीकरणको ग्राफ निरन्तर माथि लागिरहे पनि लगभग १० प्रतिशत नागरिक बिजुलीको उज्यालोबाट वञ्चित भएको देखिन्छ । दूरदराजमा रहेका विद्यार्थीको भाग्यले यही १० प्रतिशत नागरिकको नियतिसँग हिस्सेदारी गर्न पुगेको देखिन्छ, जुन सुखद् प्रसङ्ग होइन । जनस्वास्थ्यमा गम्भीर चुनौती आएको यो असामान्य अवस्थामा अनलाइन कक्षाको विकल्प छैन । त्यसैले अनलाइन कक्षाहरू सञ्चालनमा आएका छन् । यससँगै अर्को वास्तविकता हाम्रा सामु आएको छ । त्यो हो, अनलाइन कक्षामा विद्यार्थीको ‘ड्रपआउट’ का प्रसङ्ग ।
अनलाइन कक्षा ‘ड्रपआउट’ का पछाडि अनेकन् व्यावहारिक तथा मनोवैज्ञानिक कारण हुन सक्छन् । यहाँनेर एकजना कलेजमा पढाउने शिक्षकले एउटा अनलाइन बैठकमा सेयर गरेको अनुभव सान्दर्भिक हुन आउँछ । उनका अनुसार आफूले अनलाइन कक्षा सञ्चालन गर्दा एकजना विद्यार्थी रुखमा चढेर बसेको रहेछ रे । कारण थियो, नेटले राम्रोसँग काम नगर्नु । गाउँका कुना–कन्दरामा मात्र होइन, राजधानी र सहरमै पनि कतिपय परिवारले वाइफाईको सेवा उपभोग गर्न पाएका छैनन् । यसले ‘डिजिटल डिभाइड’ को ताजा दृष्टान्त पस्केको छ । यस सन्दर्भमा पोखरा महानगरपालिकाले परिपत्र गरेको प्रसंग कोट्याउनु पनि प्रासंगिक हुन आउँछ । अनलाइन कक्षाबाट शिक्षामा सबैको समान पहुँच कायम नहुने भएकाले यसलाई रोक्न महानगरपालिकाले परिपत्र गरेको समाचार आएको थियो ।
यससँगै अनलाइन कक्षाको सीमाबारे परिचित हुन आवश्यक छ । यसले भौतिक कक्षालाई कहिल्यै पनि पूरापुर विस्थापन गर्न सक्दैन । अनलाइन कक्षा भौतिक कक्षाको सहायकमात्र विकल्प होइन । सिक्ने–सिकाउने कार्यमा अनलाइन कक्षा सहायक हो तर सबथोक होइन । अनलाइन कक्षा सधैं र सबै अवस्थामा उपयोगी हुन सक्दैन । कतिपय प्रयोगात्मक विषय अनलाइन कक्षाबाट सम्भव हुँदैन । सामान्य अवस्थामा भौतिक कक्षाको विकल्प अनलाइन क्लास हुन सक्दैन । यसो भनिरहँदा अनलाइन कक्षाको विरुद्धमा मत जाहेर भएको अर्थ नलागोस् । अनलाइन कक्षाको महत्व नै छैन भन्ने होइन । यसको आफ्नै किसिमको महत्व छ । महामारीको वर्तमान अवस्थामा मात्र होइन, भविष्यमा पनि यसको महत्त्व कायमै रहनेछ । भौतिक रूपमा एकैचोटी धेरै व्यक्ति जमघट हुन सम्भव नहुने परिस्थितिमा अनलाइन कक्षा शिक्षक र विद्यार्थीबीच अन्तरक्रिया गर्ने दरिलो माध्यम बन्न सक्छ ।
अनलाइन कक्षाको कुरा गर्दा अनलाइन कक्षा र भौतिक कक्षाबीच तुलनात्मक अध्ययन गर्न पनि आवश्यक छ । भौतिक अनलाइन तथा भौतिक दुवै कक्षाको मूल उद्देश्य ज्ञान बाँड्नु नै भए पनि यी दुईबीचको शिक्षण पद्धतिमा केही सूक्ष्मतम भिन्नता छन् । भौतिक कक्षामा शिक्षकको हाउभाउ, ब्ल्याकबोर्ड वा ह्वाइटबोर्डमा लेखिएका अक्षर वा चित्र आदिबाट कुरा बुझाउन सहज हुन्छ । भौतिक कक्षामा शिक्षक र विद्यार्थीबीच प्रत्यक्ष क्रिया, प्रतिक्रिया र अन्तरक्रिया सम्भव छ, जसबाट शिक्षकको प्रस्तुतिमा प्रस्ट नभएका कुरा प्रस्ट पार्न सहज हुन पुग्छ ।
अनलाइन कक्षामा पनि शिक्षक र विद्यार्थीबीच क्रिया, प्रतिक्रिया र अन्तरक्रिया सम्भव नहुने होइन । तर, यस्ता गतिविधि ‘भर्चुअल’ हुन्छन्, जसको प्रभावकारिता प्रत्यक्ष अन्तरक्रियाको तुलनामा कमजोर हुन्छ । यसकारण, अनलाइन कक्षामा कुरा बुझाउन शिक्षकले तुलनात्मक रूपमा बढी परिश्रम गर्नुपर्ने हुन्छ । त्यसमा पनि कलिला लालाबालाको ध्यानाकर्षण गरेर विषयवस्तु बुझाउनु झनै चुनौतीपूर्ण हुन्छ । अनलाइन कक्षाका लागि तस्बिर वा ग्राफिक्सको प्रधानता रहेको शक्तिशाली ‘पावर प्वइन्ट प्रेजेन्टेसन’ हरू तयार गर्नुपर्ने हुन्छ । त्यो पनि हरेक दिन । यसले शिक्षकमा पर्याप्त जाँगर, विषयवस्तुको दक्षता र प्राविधिक ज्ञानको पनि माग गर्छ । अनलाइन कक्षाका लागि आवश्यक पर्ने सफ्टवेयरका विविध आयामबारे शिक्षक परिचित हुनैपर्छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies