२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

दुई दशकपछि पुनः एमालेमै फर्किए जितेन्द्र नारायण

ADV
पिन्टु यादव
२०८१ असार १७ गते २१:३९
दुई दशकपछि पुनः एमालेमै फर्किए जितेन्द्र नारायण

सप्तरी : चर्चित पुराना बामपन्थी नेता जितेन्द्र नारायण देव नेकपा (एमाले) प्रवेश गरेपछि चौतर्फी चर्चा हुन थालेको छ । उनी दुई दशकपछि पुनः नेकपा एमालेमै फर्किएका हुन् । सोमबार एमाले केन्द्रीय कार्यालय च्यासलमा उनलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे । 

संघीयता र पहिचानको मागसँगै क्षेत्रीय राजनीतिक उत्कर्षमा रहेका बेला उनी एमाले परित्याग गरेका थिए । संविधानसभा सदस्य,मन्त्री र राष्ट्रियसभा सदस्य भइसकेका उनको राजनीतिक धुमिल हुँदै गयो । त्यसकारण उनी कम्युनिष्ट आन्दोलनमा पुनः सक्रिय भएको हुन सक्छ ।

सप्तरी निर्माण क्षेत्र नं.बाट चुनाव लडिसकेका उनी एमाले आएपछि उपेन्द्र र सिके राउतलाई यो निर्वाचन क्षेत्रमा सकस हुने लगभग पक्का पक्की देखिन्छ । विद्यार्थी कालमै बामपन्थी राजनीतिमा लागेका उनी कम्युनिष्ट आन्दोलनमा लोकप्रिय कम्युनिष्ट नेताको छवी बनाएका छन् । अधिकार र पहिचानको आन्दोलनबाट प्रभावित भएका उनी २०६३ सालमा एमाले परित्याग गरी मधेशी जनअधिकार फोरम नेपाल प्रवेश गरेका थिए ।

त्यसबेलाको फोरम एमालेप्रति आक्रमक हुन्थे । विजय गच्छदार निकट रहेका देव गच्छदारसँगै मधेशी जनअधिकार फोरम लोकतान्त्रिक पार्टी बनाए र महासचिव भए । गच्छदार नेपाली कांग्रेससँग एकता गरेपछि उनी स्वतः कांग्रेस भएको देखिन्छ । कांग्रेसले उनलाई राष्ट्रियसभा सदस्य बनाएका थिए ।

नेकपा मानन्धर समुहको भातृ संगठन नेपाल राष्ट्रिय विद्यार्थी फेडरेसनको जिल्ला उपाध्यक्ष हुँदै राजनीतिक जीवनको शुरुवात गरेका उनी सो संगठनको केन्द्रीय अध्यक्ष समेत भइसकेका छन् । एमाले प्रवेश गरेपछि जननेता मदन भण्डारीले उनलाई आफैसँग लिएर हिँड्न् थालेपछि चर्चित हुँदै गए । 

सप्तरी जिल्लाको कम्युनिष्ट आन्दोलनको पृष्ठभूमिमा अर्थपूर्ण मानिएका देवको राजनीतिक जीवन यतिकैमा सिमित छैन । पार्टीभित्र गुटबन्दी, पूर्वाग्रह र अन्तरघात गरेको आरोप पनि उनीमाथि छ । जिल्ला विकासको निर्वाचनमा आफ्ना उम्मेदवारविरुद्ध लागेर चुनाव हराइदिएको आरोप उनीमाथि लाग्ने गरेको छ ।

नेता देवले पार्टीमा पटक–पटक अवसर पाएको मानिन्छ । सप्तरी निर्वाचन क्षेत्र नं.२ बाट प्रतिनिधिसभाको टिकट पाएका उनलाई पार्टीले नागरिकता अनुगमन तथा कार्यमूल्यांकन समितिको अध्यक्ष बनाएको थियो । उक्त एक सदस्यीय समितिले २०५३ सालमा ३४ हजारलाई नागरिकता बाँढेको थियो । जसविरुद्ध अर्को वर्ष अदालतमा मुद्दा परेको थियो ।

२०५१ सालको मध्यावधि चुनावमा सप्तरी निर्वाचन क्षेत्र –२ बाट एमालेको तर्फबाट देव करिब ७ हजार २ सय मत ल्याएका थिए । सो निर्वाचन क्षेत्रबाट दोस्रो पटकका लागि नेपाल सद्भावना पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंह १० हजार मतले विजय भएका थिए । नेपाली कांग्रेस २०४८ जस्तै सो क्षेत्रमा दोस्रो स्थान हासिल गरेका थिए ।

२०५४ सालमा नेपालगञ्जमा भएको छैठौं राष्ट्रिय महाधिवेशनबाट उनी केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका थिए । साविक राजविराज १६ बोरिया हाल राजविराज ६ र काठमाडौंमा घर भएका देवको जन्म २०१४ साल मंसिरमा भएको हो । नेकपा मानन्धरका महासचिव मानन्धरका भान्जी सन्ध्यासँग प्रेम विवाह गरेका उनलका ३ छोरी र १ छोरा छन् ।

पार्टी प्रवेश गर्नेक्रममा उनले पार्टी छाडेकोमा आत्मालोचना गरे । उनले पार्टीलाई शक्तिशाली र आत्मविश्वासी बनाएकोमा अध्यक्ष ओलीलाई धन्यवाद दिँदै पुराना बामपन्थी दिनहरूको सम्झना गरे ।

ADVADV

सम्बन्धित खबर

Advertise