बझाङ : बझाङ जयपृथ्वी नगरपालिका–१०स्थित सदरमुकाम चैनपुरमा निर्माण भइरहेको जिल्ला कारागारको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
सो कारागारको झ्याल मिलाउने र पर्खाल लगाउने लगायतका केही काम बाँकी रहेको र केही महिनाभित्र कारागार नयाँ भवन सञ्चालनमा आउने जिल्ला कारागार बझाङका जेलर राजेन्द्र फडाराले जानकारी दिए । निर्माण कार्य अन्तिम चरणमा रहेको उक्त कारागार भवनमा ८ वटा कोठा र ७५ जनाको क्षमता रहेको छ ।
जेलर फडाराका अनुसार पुरुष कैदीबन्दीका लागि निर्माण भइरहेको कारागार भवन छिट्टै सञ्चालन हुनेछ । नयाँ कारागार भवन बनेपछि कैदीबन्दीहरूलाई राहत हुने विश्वास गरिएको छ । अहिले जिल्ला कारागार बझाङमा २५ जना कैदीबन्दीको क्षमता रहेकोमा ७० जना कैदीबन्दी हुँदा उनीहरुले सास्ती खेपेका छन् ।
२०६८/०६९ मा महिला कैदीबन्दीका लागि बनेको भवनमा पुरुष कैदीबन्दीका लागि भवन अभाव भएकाले उक्त भवनमा राख्ने गरिएको छ । १० करोडको लागतमा निर्माण भइरहेको सो कारागारको भवन निर्माणको काम पिएस कन्ट्रक्सन सिलगढी डोटीले पाएको छ । निर्माण कम्पनीले जेठमा हस्तान्तरण गर्ने लक्ष्य लिएको भएपनि झ्याल मिलाउने र कारागार घेर्ने पर्खाल निर्माण गर्ने काम बाँकी रहेकाले २/३ महिना अझै लाग्ने जेलर फडाराले बताए । अहिले सबै गरेर कारागारको भवनको निर्माण कार्य ९२ प्रतिशत भइसकेको समेत फडाराले बताए ।
आर्थिक २०८० साल जेठमा सम्झौता भएर २०८१ जेठमा सम्पन्न गर्ने निर्माण कम्पनी संग सम्झौता भएपनि निर्माण कम्पनीले काम नगर्दा जिल्ला कारागारको निर्माण कार्य ढिलो भएको बताइएको छ । निर्माण कम्पनीले एक पटक म्याद थप गरेर २०८२ जेठमा हस्तान्तरण गर्ने बताएको छ ।