लेखनाथ सिकारु
काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले राजावादीको हिंसात्मक क्रियाकलापविरुद्ध देशव्यापी रूपमा भण्डाफोर गर्ने भएको छ ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपा समाजवादीले शुक्रबार राजावादीले हत्या, हिंसा, नीजि तथा सार्वजनिक सम्पतीमा आगजनी, तोडफेड र लुटपाटका उद्दण्ड, विध्वंसकारी र जनविरोधी क्रियाकपाल गरेको भन्दै उक्त क्रियाकलापको निन्दा र भत्र्सना गर्दै देशव्यापी भण्डाफोर गर्ने जनाएको हो ।
पार्टी कार्यालय तथा अन्य स्थानमा भएको हिंसात्मक क्रियाकलापविरुद्ध चैत्र २५ गतेभित्र सबै प्रदेश, जिल्ला, स्थानीय कमिटी र जनसंगठनले सम्बन्धित तहमा विरोध प्रदर्शन गर्ने पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।
उनले तथाकथित राजावादी प्रदर्शनका नाममा भएको हत्या, हिंसा, आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूलाई तत्काल कडा भन्दा कडा कानुनी कारवाही गर्न माग गरिएको बताए ।
त्यस्तै उचित समयमा उचित ढंगले सुरक्षाकर्मी परिचालन गरेर शान्ति सुरक्षा कायम गर्न नसक्नु सरकारको असक्षमता र कमजोरी भएकाले सरकारको कमजोरी र गैरजिम्मेवार व्यवहारको विरोध गर्ने निर्णय भएको ज्वालाले उल्लेख गरे ।
‘आफ्ना पार्टी प्रतिगामी षडयन्त्र, दरवारिया अराजकता र पश्चगमनका विरुद्ध आन्दोलनमा होमिएकै कारण प्रतिक्रियावादीहरूले निशाना बनाएकोछ’, उनले भने ।
पार्टीले घटनामा ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन समेत सरकारसँग माग गरेको छ ।
उनले सञ्चार गृहमाथि आक्रमण गरेर प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दुष्प्रयास गरिएको भन्दै उक्त आक्रमणप्रति पार्टीले निन्दा व्यक्त गरेको बताए ।