रसुवा : रसुवामा निर्माणाधीन २१६ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाले आयोजना प्रभावित आमाछोदिङमो गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको छ ।
विपद्, दुर्घटना एवम् गम्भीर प्रकृतिका रोगबाट प्रभावित घाइते, सुत्केरी लगायत आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई मानवीय सेवा पु¥याउने उद्देश्यले गाउँपालिकालाई आधुनिक सुविधा सम्पन्न एम्बुलेन्स प्रदान गरिएको हो ।
आयोजनाको सामुदायिक सहयोग कार्यक्रमअन्तर्गत प्रदान गरिएको एम्बुलेन्स आयोजना प्रभावित आमाछोदिङमो गाउँपालिका–१ हाकुस्थित हाकु हेल्थ पोष्टले सञ्चालन गर्नेछ । आयोजना प्रभावित अर्को उत्तरगया गाउँपालिकालाई पनि छिट्टै एम्बुलेन्स प्रदान गरिनेछ ।
हेस्थ पोष्टले सञ्चालन गर्ने एम्बुलेन्सबाट आयोजना प्रभावित क्षेत्रका बिरामी तथा घाइतेलाई समयमै अस्पतालसम्म पु¥याई जीवन रक्षा गर्न ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
आयोजनाको प्रवद्र्धन नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बायोङ सु मिनले एम्बुलेक्सको चाबी गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङलाई हस्तान्तरण गरे ।
सरकारले राष्ट्रिय एम्बुलेन्स निर्देशिकामा तोकिएका मापदण्डबमोजिम एम्बुलेन्स खरिद गरिएको हो । एम्बुलेन्स आयातमा लाग्ने राजश्व नेपाल सरकारबाट छुट प्राप्त भएको छ । राजश्व छुटमा खरिद गरिएको एम्बुलेन्सको मूल्य २५ लाख रुपैयाँ छ ।
आयोजनाले प्रभावित क्षेत्रमा सामुदायिक सहयोग कार्यक्रममार्फत हालसम्म करिब १७ करोड रुपैयाँ खर्च गरिसकेको छ ।
कोरियन कम्पनीहरूको अगुवाइमा प्रत्यक्ष वैदेशिक लगानीमा रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकुमा आयोजनाको बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका–१मा भूमिगत विद्युतगृहलगायतका संरचना निर्माणाधीन छन् । उत्पादित विद्युत् आन्तरिक खपतका लागि प्रयोग हुने माथिल्लो त्रिशूली–१ प्रत्यक्ष वैदेशिक लगानीमा निर्माणाधीन सबैभन्दा ठूलो आयोजना हो ।
आयोजनाको मुख्य निर्माण २०७८ पौषबाट सुरु गरिएको थियो । भूमिगत विद्युतगृह, मुख्य सुरुङ, बाँधलगायतका सम्पूर्ण संरचनाहरूको निर्माण सबैतिरबाट तीव्र गतिमा भइरहेको छ । आयोजनाको समग्र भौतिक प्रगति ५६ प्रतिशत छ ।
आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ । कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको व्याजसहित) रहेको आयोजनामा ९ अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन्। बाँकी रकम इक्विटीबाट जुटाइएको छ ।
आयोजनाबाट वार्षिक रूपमा १ अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुने छ । आयोजनाबाट उत्पादन हुने कुल वार्षिक ऊर्जामध्ये ३८.७५ प्रतिशत हिउँदयाममा र ६१.२५ प्रतिशत वर्षायाममा उत्पादन हुने छ । उत्पादित ऊर्जा नेपाल विद्युत प्राधिकरणको त्रिशूली–३बी हब सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ । कम्पनी र प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भइसकेको छ।
काठमाडौं लोड सेन्टरबाट नजिक रहेको र विद्युतको अत्याधिक माग हुने हिउँदमासमेत १०४ मेगावाट विद्युत् प्राप्त हुने भएकाले मुलुकको विद्युत प्रणालीका लागि आयोजना अत्यन्त्तै आकर्षक मानिएको छ ।
आयोजनाबाट वर्षभरि नै १०४ मेगावाट स्थिर (फार्म) ऊर्जा प्राप्त हुने छ । आयोजनाको निर्माण २०८३ को मंसिर महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।