काठमाडौं : संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले नागरिक स्वस्थ रहे मात्र देश स्वस्थ रहने बताएका छन् । कैलालीको गोदावारी नगरपालिकामा सञ्चालित अधिकारमा आधारित यौन तथा प्रजनन स्वास्थ्य अधिकार र सेवामा पहुँच सुदृढीकरण परियोजना समीक्षा कार्यक्रममा सभापति थापाले यस्तो बताएका हुन् ।
रोग लागे पनि नदेखाउने प्रवृत्ति अन्त्य हुनुपर्ने, स्थानीय तहमा प्रजनन स्वास्थ्यमा सचेतना अभिवृद्धि गर्नुपर्ने र शिक्षा, स्वास्थ्य र विकासमा राजनीति गर्न नहुने सभापति थापाले बताए ।
कैलालीको गोदावारी नगरपालिकामा पाइलट प्रोजेक्टका रुपमा सेन्टर फर रिप्रोडक्टिभ राइट, केयर, महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी) निड्स नेपाल र ह्युमननिट्रेन पार्टनरसिप प्लेटफर्मले परियोजना सञ्चालन गरेका थिए ।
विपद् व्यवस्थापन नीति तथा योजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार समावेश गर्दै आपतकालीन अवस्थामा पनि सुरक्षित, गुणस्तरीय र निरन्तर स्वास्थ्य सेवा सुनिश्चित गर्न परियोजना सञ्चालन गरिएको कन्सोर्टियम प्रोजेक्टका प्राविधिक संयोजक शंकर धामीले जानकारी दिए ।
संयोजक धामीले सामुदायिक जवाफदेहिता संयन्त्रको स्थापना तथा कार्यान्वयन, विपद् तयारी, प्रतिकार्य र पुनस्र्थापनासँग सम्बन्धित कानुन र नीतिहरुमा प्रमाण–आधारित वकालत, स्वास्थ्यकर्मी तथा मानवीय सहायता प्रदायकको क्षमता विकास र विपद् अनुगमन प्रणालीमा यौन तथा प्रजनन स्वास्थ्यका सूचकहरु समावेश गरी कार्यान्वयनका लागि मानवअधिकार संस्थाहरुसँग पैरवी गर्ने परियोजनाको मूल उद्देश्य रहको बताए ।
नगरपालिकासँग समन्वय गरेर परियोजना सञ्चालन भएको नगर उपप्रमुख शारदादेवी रोकायाले बताइन् । उपप्रमुख रोकायले परियोजना पूर्णरुपमा सफल रहेको र यस्ता कार्यक्रम पालिकामा निरन्तर सञ्चालन गरिराख्न आग्रह गरिन् । परियोजना सञ्चालनपछि गोदावरी नगरपालिकामा ऐन निर्माण भएको, स्वास्थ्य सचेतनामा उल्लेख्य वृद्धि भएको उनले बताइन् ।
उपमेयर रोकायाले गैरसरकारी संस्थाको सहयोगमा ऐन निर्माण भएपछि, ऐन कार्यान्वयनका लागि १ करोड रुपैयाँ विनियोजन भएको, स्वास्थ्य सेवाका लागि पालिकाले १५ लाख रुपैयाँ बजेट छुट्टाइएको, जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा पालिकाले उपलब्ध गराइएकोलगायतका प्रगति भएको बताइन् ।
यो परियोजना सम्पन्न भएपछि गोदावरी नगरपालिकाले सुरक्षित मातृत्वमा ठूलो उपलब्धी भएको स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताए । पालिकामा १८ वटा स्वास्थ्य संस्था रहे पनि सेवाका बारेमा सुसूचित नभएको उनले बताए । पालिकामा १०७ जना स्वास्थ्यकर्मी रहे पनि सबै समेट्न नसकेको, स्वास्थ्य स्वयमसेवकले ६ महिनादेखि तलब नपाएको, प्रदेश र केन्द्रले निःशुल्क उपलब्ध गराउने औषधि समयमा उपलब्ध नगराउने जस्ता स्वास्थ्य क्षेत्रका समस्या उनले सुनाए ।
धेरै हिसाबले अन्य पालिकाभन्दा गोदावरी नगरपालिका धेरै अगाडि रहेको एफडब्लुएलडीका अधिवक्ता दिपेश श्रेष्ठले बताए । प्रगतिशील स्थानीय कानुन निर्माण गरेर पालिकाले आफूलाई अगाडि राखेको उनको भनाइ थियो । केयर नेपालका कालिदास जोशीले २१ वटा वडामा २१ वटा समुदाय गठन गरी सहजकर्ता तोकेर काम गरेको बताए । समुदायले प्राप्त गर्ने सेवाबारे जानकारी गराइएको उनले बताए । समुदाय स्तरीय जवाफदेहिताबारे निड्स नेपालकी कार्यक्रम अधिकृत रुचि रानामगरले स्पष्ट पारेकी थिइन् । रिप्रडक्टिभ राइटका प्रभावर श्रेष्ठले गोदावारी नगरपालिकामा सञ्चालन भएको पाइलट परियोजना विस्तृत जानकारी दिएका थिए । कार्यक्रममा परियोजना सञ्चालनको उद्देश्य, तयारी र चुनौतिका बारेमा श्रव्यदृश्यका सामाग्री प्रस्तुत गरिएको थियो ।
सेन्टर फर रिप्रोडटिप राइटकी प्रविना बज्रचार्यले दुईवटा समूहलाई एक ठाउँमा राखेर काम गर्नुपरेको बताइन् । परियोजना सम्पन्न भएपछि प्राकृतिक जोखिममा प्रजनन स्वास्थ्यजस्तो महत्वपूर्ण विषयमा पालिकाले उपलब्धी हालिस गरेको विश्वास व्यक्त गरिन् ।