इलाम : इलाम सदरमुकाममा मोटर पार्किङसहितको बहुतले चलचित्रघर निर्माण हुने भएको छ । प्रदेश सरकारको रु ११ करोड १० लाख ३९ हजार ८३८ लागतमा सिनेमा हल निर्माण हुन लागेको हो । भवनमा एक तला भूमिगतसहित तीन तला पार्किङस्थल र चौथो तलामा दुई सिनेमा हल र फुड कोर्ट रहने नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए ।
बसपार्कमा रहेको चार रोपनी क्षेत्रफलमा दुई सिनेमा हलका लागि प्रतिहल २५० जना क्षमताको भवन बन्नेछ । भवनमा ४७ साना सवारी साधन र २०० भन्दा बढी मोटरसाइकल पार्किङ गर्न सकिनेछ । विसं २०७९ चैत ३० सम्म सम्पन्न गर्ने गरी कवीन्द्र नवसिर्जन्स जेभी कम्पनीले जिम्मा लिएको छ । अहिलेको बसपार्क साँघुरो भएपछि नगरले नयाँ बसपार्क बनाएको छ ।
सोही ठाउँमा पार्किङस्थलसहितको चलचित्रघर बनाइने भएको हो । स्थानीयवासीले इलाममा सिनेमा भवन बनाउन माग गरेपछि एकै ठाउँमा सिनेमा भवन र पार्किङस्थल बनाउन लागिएको हो । अहिले सिनेमा हलका लागि गौतम बुद्ध सभागृहको भवन भाडामा लिनुपर्ने बाध्यता छ ।
नगरले सोही भवन निर्माणका लागि एक वर्षअघि नै रु २३ करोडमा निर्माण गर्ने गरी विस्तृत परियोजना प्रतिवेदन तयार गरेको थियो । प्रदेश नं १ सँग भने १७ रु करोडमा सम्झौता भएको थियो । अहिले नगरपालिकाले भवन निर्माणका लागि रु ११ करोडमा ठेक्का दिएको नगर प्रमुख बस्नेतले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies