रुकुम पश्चिम : रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा भएको अटो दुर्घटनामा परेर सिनियर अहेब नरबहादुर खत्रीको निधन भएको छ ।
सानीभेरी गाउँपालिकाको वडा नम्बर ६ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र खेतमा सिनियर अहेब पदमा कार्यरत ४३ वर्षीय खत्री गत चैत ११ गते वडा नम्बर ३ को बेलटापु नजिकै भएको अटो दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि तत्काल चौरजहारी हुँदै नेपालगञ्ज लगिएको थियो । त्यहाँ पनि उपचार सम्भब नभएपछि उनलाई भारतको लखनउ लगिएको थियो । उनको टाउको, गर्धन, मेरुदण्ड लगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो ।
लखनउस्थित म्याक्स अस्पतालमा उनको उपचार भइरहेको थियो । तर शनिबार बिहान उपचारको क्रममा उनको निधन भएको पारिवरिक स्रोतले जनाएको छ ।
कार्यक्षेत्रबाट फर्कँदै गर्दा भएको दुर्घटनामा परेर एक असल, इमान्दार, स्वास्थ्य क्षेत्रको अब्बल हस्ती गुमाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक बुढाथोकीले बताए । सानीभेरी गाउँपालिका ४ घर भएका खत्री हाल दाङ बस्दै आएका थिए । उनका श्रीमती, एक छोरा र एक छोरी छन् । उनको शव लखनउबाट दाङ ल्याएर पोष्टमार्टम गरेपछि आइतबार बिहान तुलसीपुरस्थित शितलपुर घाटमा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले बताएको छ ।