काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको नेतृत्व गर्नेहरु बिचौलियाको खेलमा सहभागी बनेको आरोप लगाएका छन् ।
आइतबार काठमाडौंमा सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । नेता डा कोइरालाले नेतृत्व तह नै बिचौलियाहरुसँग मिल्दा देश विकासमा समस्या आइरहेको जिकिर गरे । उनले नेपाललाई समृद्ध बनाउन र नेपालमै गर्न सकिने भन्दै त्यसका लागि बिचौलियाहरुबाट सचेत र सतर्क रहन जरुरी रहेको बताए । उनले त्रिभूवन विश्वविद्यालयको उपकुलपतिबाट केशरजंग बरालले केही दिनअघि दिएको राजीनामाको प्रसंग निकाल्दै उनले बिचौलियाकै कारण काम गर्न नसकेर राजीनामा दिनुपरेको बताए ।
नेता कोइरालाले संविधानमा सुधार गर्न जरुरी रहेको बताए । उनले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउँदाताका नै संविधानमा सुधार गर्ने कुरा उल्लेख गरिएको र प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बनेपछि संसदको रोष्ट्रममा उभिएर संविधान संशोधनको कुरा गरेको स्मरण गराउँदै आवश्यक परिवर्तन जरुरी रहेको बताए । कांग्रेस-एमालेको सरकार बनेको ९ महिना बितिसक्दासमेत संविधान संशोधनतर्फ केन्द्रित नहुनु दुःखद् भएको उनको भनाइ थियो ।
देशको आर्थिक अवस्था नाजुक रहेको भन्दै उनले सरकारले अर्थतन्त्र सुधारका लागि अध्यादेशमार्फत ऐन ल्याएको र सुधार हुने आशा रहेको बताए । उनले त्यहाँ पनि बिचौलियाको खेल हुनसक्ने आशंका व्यक्त गरे । राष्ट्र बैंकको गभर्नर बनाउन पनि बिचौलियाहरु चलखेल गर्दैछन् भन्ने कुरा आइरहेको भन्दै त्यस्तो भएको हो भने देशकै लागि दुर्भाग्य हुने उनले बताए । देशको अर्थतन्त्रसँग खेल्ने कुचेष्टा कसैले गर्न नहुने उने बताए । सुशासन दिन्छौं भनेर सरकारले भनिरहे पनि औचित्य सावित हुन नसकेको उनले बताए । नेतृत्वमा राजनीतिक इच्छाशक्ति भए देश विकास गर्न सकिने उनको भनाइ छ ।
नेता कोइरालाले हाइड्रोपावर, कृषि, ग्रिन इण्डस्ट्रीलाइजेसन, डिजिटलाइजेसन क्षेत्रमा बढी जोड दिनसके नेपाल समृद्ध बन्ने बताए । उनले सबै प्रधानमन्त्रीहरुले आफ्नो कार्यकालमा भ्रष्टाचारमा शून्य सहनशिलता अपनाउन नसकिरहेको उल्लेख गरे ।