२०८२ वैशाख ४ गते बिहिवार / Apr 17 , 2025 , Thursday
२०८२ वैशाख ४ गते बिहिवार
Ads

हिन्दु राष्ट्रको बहसमा अल्झियो कांग्रेस

draupadi film
जीवन शर्मा
२०८१ चैत २६ गते ०७:०१
हिन्दु राष्ट्रको बहसमा अल्झियो कांग्रेस

काठमाडौं : वर्तमान संविधानको प्रारम्भमै ‘धर्मनिरपेक्ष लोकतान्त्रिक गणतन्त्रात्मक राज्य’ लेखेको संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र यतिबेला हिन्दुु धर्म सापेक्ष राष्ट्रको बहस चर्किएको छ ।

२३ असोज २०७१ मा पहिलो पटक सार्वजनिक रूपमा हिन्दु राष्ट्र निर्माणको अभियान चलाए पनि संविधान निर्माणमा यो विषयलाई प्रवेश गराउन नसकेका कांग्रेस नेताहरूले संविधान संशोधनको बहससँगै हिन्दुु राष्ट्रको एजेन्डालाई सशक्त बनाएका हु्न् । 
नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेर तत्कालीन प्रधानमन्त्री एवं कांग्रेस सभापति स्व. गिरिजाप्रसाद कोइरालाले भूल गरेको हिन्दुु राष्ट्र पक्षधर नेताहरूले बताएका छन् । नेकपा माओवादीको १० वर्षे सशस्त्र द्वन्द्वपछि विस्तृत शान्ति सम्झौतामा धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको थियो ।

सोही कुरालाई संविधानमा समेट्ने विषयमा त्यसबेला पनि कांग्रेस, राप्रपासहितका धेरै सभासद्हरू सहमत नभएको बताउँछन् । यद्यपि, ठूला दलका शीर्ष नेताहरूका अगाडि संविधानसभाका सभासद्हरूको केही नलागेको तत्कालीन सभासद्हरूले टिप्पणी गरे । 

अधिकांश सभासद्हरूको असहमति हुँदाहुँदै पनि दलका शीर्ष नेताहरू र केही विदेशी शक्तिको आडमा जबरजस्त संविधानमा धर्मनिरपेक्ष राखिएको नेपाली कांग्रेसका तत्कालीन सभासद् एवं पार्टी केन्द्रीय सदस्य शंकर भण्डारीले बताए । संविधानको प्रारम्भमै ‘नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो’ भन्ने वाक्यांश उल्लेख छ ।

संविधान संशोधनीय भएकाले अहिलेको परिस्थिति र नेपाली नागरिकको चाहना हिन्दुु राष्ट्र भएको भण्डारीले दाबी गरे । उनले भने, ‘नेपालका ८० प्रतिशत ॐमकार परिवारको चाहनालाई नेताहरूले बुुझ्नुुपर्छ । संविधान निर्माणका क्रममा जनताले दिएको राय बोरामा बन्द गरेर संविधान जारी गरियो । त्यतिबेला ८० प्रतिशतभन्दा बढी जनताले हिन्दु राष्ट्र हुनुपर्छ भनेका थिए । कसैले हिन्दु राष्ट्रलाई हटाऊ भनेको अवस्था थिएन ।’ 

७ माघ २०८० मा ललितपुरको गोदावरीमा भएको कांग्रेस महासमिति बैठकमा भण्डारीसहित २२ जना केन्द्रीय र १ हजार १८ जना महासमिति सदस्यले हिन्दु राष्ट्रको एजेन्डा प्रवेश गराएका थिए । पार्टीलाई धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दु धर्मको पक्षमा उभ्याउन विशेष पूरक प्रस्ताव नै पेस गरेका थिए ।

हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर अभियान चलाएका नेताहरूलाई प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले समेत साथ दिएका थिए । पछिल्लो पटक डा. कोइरालाले फेरि नेपाललाई हिन्दु राष्ट्र बनाइनुपर्ने अभिव्यक्ति सार्वजनिक गरेका छन् । जनताले हिन्दुु राष्ट्र खोजेको तर राजा नचाहेको उनको प्रस्टोक्ति छ ।

‘कांग्रेसमा हिन्दूराष्ट्रको पक्षमा ठूलो जनमत तयार भइरहेको छ’, कोइरालाले भने, ‘राजालाई हामीले पटक–पटक मौका दियौं, अवसर दियौं, उनले दुरुपयोग गरे । अब के ग्यारेन्टी छ कि उनले दुरुपयोग गर्दैनन् ? त्यसैले, अब राजा हामीलाई चाहिँदैन । हिन्दु राष्ट्रको पक्षमा चाहिँ म छु ।’

केही हप्ताअघि मात्र पार्टी सभापति शेरबहादुर देउवाले एक सार्वजनिक कार्यक्रममै हिन्दु राष्ट्रबारे पुनर्विचार गर्न सकिने अभिव्यक्ति दिएपछि उक्त मुद्दालाई थप मलजल पुगेको कोणबाट विश्लेषणहरू पनि भइरहेका छन् । अब नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भन्ने कांग्रेसका बहुसंख्यक नेता, कार्यर्ताको धारणा बनिसकेको धर्मनिरपेक्षको पक्षमा उभिएका कांग्रेसकै नेताहरूको बुझाइ छ । 
पार्टी सभापति देउवा निकट मानिएका कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतसमेत पछिल्लो पटक हिन्दु राष्ट्रका विषयमा सकारात्मक देखिएका छन् । ‘हामी संविधान निर्माणको बेलामा नै धर्मनिरपेक्षताको पक्षमा थिएनौं । धार्मिक स्वतन्त्रता भए हुन्छ भन्ने थियो । सम्झौता गरेको हो । त्यसैले, हाम्रो पहिचान हिन्दु, बौद्ध, किरात, धर्म संस्कृतिचाहिँ सनातन धर्म संस्कृति हो । यसमा हाम्रो भावना छ ।’

उसो त कांग्रेसको पेसागत तथा बुद्धिजीवी विभाग र नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए)ले संविधान संशोधनका सवालमा सातै प्रदेश र भ्रातृ तथा शुभेच्छुक संघसंस्थासँग गरेको छलफलमा समेत हिन्दु राष्ट्र बनाउन सुझाव आएको छ । विभागकी प्रमुख एवं पार्टी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले पार्टी सभापति देउवालाई बुझाएको उक्त प्रतिवेदनमा नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने सुझाव आएको बताइन् । संग्रौला पनि पहिलादेखि नै हिन्दु राष्ट्रको पक्षमा वकालत गर्दै आएकी छन् । 

हिन्दु राष्ट बनाएर देशलाई धार्मिक पर्यटनको माध्यमबाट समृद्ध बनाउन सकिने नेताहरूको तर्क छ । ‘विश्वको एक मात्र हिन्दु राज्य नेपाल हो भनेर विश्वसामु चिनाउन र नेपालमा धार्मिक पर्यटनको हब बनाएर मुलुकलाई आर्थिक उन्नतिमा लैजान सकिन्छ’, नेता शंकर भण्डारीले भने ।

कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद दीपक गिरी पनि नेपाललाई हिन्दु राष्ट्र बनाउन आवश्यक रहेको बताउँछन् । संविधान निर्माणकै क्रममा ८० प्रतिशत जनता हिन्दु राष्ट्रको पक्षमा रहेको दाबी गर्दै गिरीले भने, ‘संविधान निर्माणका क्रममा जनताले दिएको राय बोरामा बन्द छ । त्यो खोलियोस् त ! त्यतिबेला ८० प्रतिशतभन्दा बढी जनताले हिन्दु राष्ट्र हुनुपर्छ भनेका थिए । कसैले हिन्दु राष्ट्रलाई हटाऊ भनेको अवस्था थिएन । संसारभरि एउटा हिन्दु राष्ट्र भएको हेर्ने धेरैको रहर थियो । अहिले पनि ती अभिलेख र राय हेरियोस् । नेपालमा हिन्दु राष्ट्र अत्यन्त आवश्यक परिरहेको अवस्था छ ।’ 

२०७१ सालमा कांग्रेस नेता हरिबोल भट्टराईको नेतृत्वमा रहेको बीपी चिन्तन प्रतिष्ठानको संयोजकत्वमा सनातन हिन्दु राष्ट्र नेपाल नागरिक संघर्ष समिति नै बनाएर अभियान चलाएका थिए । हिन्दु राष्ट्रको पक्षमा चलाएको सो अभियानमा पूर्वगृहमन्त्री खुमबहादुर खड्का, पूर्वसभामुख तारानाथ रानाभाट, चिरञ्जीवी वाग्ले, पुष्पा भुसाल, दीपकुमार उपाध्यायसहित २ दर्जनभन्दा बढी केन्द्रीय नेता थिए ।

अहिले केन्द्रीय सदस्यहरू शंकर भण्डारी, दिलेन्द्रप्रसाद बडू, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, प्रकाश रसाइली ‘स्नेही’, रंगमती शाही, विद्या तिमल्सिना, गेहेन्द्र गिरी, सीता देवकोटा, अर्जुनजंगबहादुर सिंह, सीता कुमारी, शारदा पौडेल, चम्पादेवी खड्का, नागिना यादव, नृपबहादुर बड, सञ्जय गौतम, भीम पराजुली, दिनेश कोइराला, मुक्ताकुमारी यादव, डा. डिला संग्रौला, इन्द्रबहादुर बानियाँ, शुक्रराज शर्मालगायत छन् । 

तत्कालिन प्रधानमन्त्री एवं कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले कम्युनिस्टसँग एकता गरेर नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरी भूल गरेको नेताहरूको असन्तुष्टि छ ।
 

ADV

सम्बन्धित खबर

Advertise