सुर्खेत : नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीहरुले देश बर्बाद बनाएको आरोप लगाएका छन् । मंगलबार एमाले सुर्खेतको आयोजनामा भएको बृहत् जागरणसभामा बोल्दै पोखरेलले यस्तो आरोप लगाएका हुन् ।
उनले गणतन्त्र आएपछि मात्रै देशमा विकास भएको दाबी गरे । सयौं वर्षसम्म राजतन्त्रको समयमा जम्मा ८ हजार किलोमिटर सडक मात्रै भएको उनको भनाइ थियो । ‘सयौं वर्ष देशमा राजतन्त्र थियो । त्यो समयमा ८ हजार किलोमिटर सडक बनेको थियो । तर, गणतन्त्र आएपछि देशमा केन्द्र सरकारले मात्रै ४३ हजार किलोमिटर सडक निर्माण गरेको छ,' उनले भने, स्थानीय सरकार र प्रदेश सरकार गरी हाल १ लाख १० हजार किलोमिटर बनेको छ । यो सबै जनताले ल्याएको गणतन्त्रको उपज हो ।’
महासचिव पोखरेलले राजतन्त्रको समयमा नेपालीको औसत आयु ५४ वर्ष मात्रै रहेको र हाल ७४ वर्ष पुगेको दाबी गर्दै नेपालमा परिर्वतन भएको बताए ।