२०८१ चैत ३१ गते आइतवार / Apr 13 , 2025 , Sunday
२०८१ चैत ३१ गते आइतवार
Ads

‘सडक आन्दोलन व्यवस्था फेर्न होइन, यो दलहरूप्रतिको वितृष्णा हो’

draupadi film
मध्यान्ह
२०८१ चैत २८ गते ११:३७
‘सडक आन्दोलन व्यवस्था फेर्न होइन, यो दलहरूप्रतिको वितृष्णा हो’

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी प्रतिनिधिसभा सदस्य हुन् । ‘नागरिक उन्मुक्ति पार्टी’ का केन्द्रीय सदस्य उनी कैलाली निर्वाचन क्षेत्र– २ बाट निर्वाचित भएका हुन् ।

विसं २०६५ देखि राजनीति सुरु गर्नुभएका राज्यमन्त्री चौधरी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य झपडबहादुर रावलसँग पाँच हजार सात सय ४३ मतान्तरका साथ विजयी भएका हुन् । राज्यमन्त्री चौधरीसँग सुशील दर्नालले गरेको कुराकानीको सम्पादित अंश । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनको सवाल   
    
सङ्घीय सरकारको काम भनेको विकाससँगै कानुन बनाउने पनि हो । विकासका काम सङ्घीय सरकारले गरेर मात्रै हुँदैन । पर्यटनको सवालमा कतिपय क्षेत्रमा चाहेर पनि काम गर्न सकिएको छैन । रारा राष्ट्रिय निकुञ्जमा पर्यटकका निम्ति स्तरीय होटल छैनन् । त्यहाँ सरकारी आरक्षणको जग्गा मात्रै छ । राराताल गएका पर्यटकलाई व्यवस्थित बासको व्यवजस्था गर्न सकिएको छैन ।

निकुञ्जका विषयमा पर्यटन मन्त्रालले मात्रैभन्दा पनि वन मन्त्रालयको पनि भूमिका हुन्छ । समृद्ध नेपाल निर्माणका  लागि सरकारले जलविद्युत्, कृषि र पर्यटनमा लगानी बढाउने गरी काम गरिरहेको  छ ।  सरकार बजेट निर्माणको पूर्वसन्ध्यामा छ । संस्कृति, पर्यटन तथा नागरिक  उड्डयन क्षेत्रको विकासका निम्ति लड्ने एउटा कुरा भयो । तर जनताले सङ्घीय सांसद भनेको विकास गर्न संसद्मा गएका हुन् भनेर बुझिदिनुहुँदैन । हाम्रो मुख्य काम कानुन निर्माण नै हो । 

राज्यमन्त्री हुँदैगर्दा कर्मचारीप्रतिको बुझाइ
    
टीकापुर विमानस्थल २८ वर्षपछि भर्खरै सञ्चालनमा आएको छ । सञ्चालनमा ल्याउनका लागि मैले राज्यमन्त्रीको हैसियतमा धेरै अनुभव लिएको छु । म आफैँ राज्यमन्त्रीको जिम्मेवारी छु । राज्यमन्त्रीको हैसियतमा कर्मचारीलाई निर्देशन दिए पनि कार्यान्वयन हुँदैन । एउटा सामान्य कामका लागि पनि कर्मचारीले अनावश्यक घुमाइरहेका हुन्छन ।

कर्मचारीमा प्रणालीको विकास हुन सकेको छैन । जनताको काम छिटो गर्नेभन्दा पनि अनेक बहानामा आलटाल गर्ने प्रवृत्ति कर्मचारीमा छ । त्यसलाई हटाउन मैले सक्दो प्रयास गरिरहेको छु । जनतालाई छिटोछरितो सेवा दिने कुरा सुशासनसँग जोडिएको विषय हो । अहिलेको सरकारले सुशासनको निम्ति सरकारी सेवालाई द्रूत बनाउँदै लगेको छ । भ्रष्टाचारीलाई कारबाही पनि गर्दै आएको छ ।   

व्यवस्था परिवर्तनबारे उठेका सवाल
    
विसं २०५२ देखि २०६२ सालसम्म विकासको काम खासै हुन सकेन । तर २०६२÷०६३ सँगै देशको व्यवस्था परिवर्तन भएपछि जनताले शिक्षा, स्वास्थ्य, रोजगारी, भौतिक विकासको आशा गरेका थिए । जुन आशा पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन । देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आए पनि जनताको अवस्था परिवर्तन नभएका कारण जनतामा दलप्रति एक खालको वितृष्ण पैदा भएको छ ।

गणतन्त्रपछि बनेका सरकारले जनताको चाहनाअनुसार काम गर्न नसकेको पनि देखिन्छ । त्यो जनताको निरासा र वितृष्ण पछिल्लो समयमा सडकमा पोखिएको छ । जनताले राजसंस्था ल्याउनका लागि सडकमा आएकोभन्दा पनि गणतन्त्रको अभ्यास गरिरहेका राजनीतिक दलप्रतिको वितृष्णा मात्रै हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रपछि भएका प्रगतिबारे राजनीतिक दलले जनतालाई विस्तृत रुपमा बुझाउन जरुरी छ । जनता सडकमा आउनु भनेको नेता सुध्रिने मौका पनि हो ।  अब दलहरु सुध्रिन पनि जरुरी छ । सरकारले देशमा रोजगारी सिर्जनाको निम्ति उद्योग तथा कलकारखाना सञ्चालन गर्न नीति बनाएर काम गरिरहेको छ ।

संविधान कार्यान्वयन र संशोधन 
    
संविधान अझै पनि पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन । संविधानमा भएका अधिकार मात्रै कार्यान्वयन गरेको खण्डमा देशमा देखिएको वर्तमान अवस्था आउने थिएन । संविधानको पूर्ण कार्यान्वयन भएको खण्डमा जनताहरु निरास भएर राजतन्त्रको नाममा सडकमा आउने अवस्था आउने थिएनजस्तो लाग्छ ।

त्यसैले साना ठूला सबै दल आपसमा मिलेर संविधान कार्यान्वयनको बाटोमा लाग्नुपर्ने अहिलेको आवश्यकता हो । फेरि संविधानको कार्यान्वयन गर्ने सरकारले मात्रै होइन । कार्यान्वयनमा आमसञ्चार माध्यम, नागरिक समाज, मानवअधिकारकर्मीलगायत सबै जनताको उत्तिकै भूमिका हुन्छ । संविधान संशोधन गर्नुपर्छ भन्ने हाम्रो ‘नागरिक उन्मुक्ति पार्टी’ को एजेण्डा पनि हो । संविधान संशोधन गरेर सीमान्तकृत समुदायको अधिकार  सुनिश्चित गर्नुपर्ने छ । त्यसैगरी सङ्घीयताको विषयमा पनि संविधान संशोधन गर्नुपर्छ ।  

थारु समुदायको सम्बोधन गर्नुपर्ने मुद्दा
    
थारु समुदायको हकमा संवैधानिक व्यवस्थाको कार्यान्वयन हुनुपर्छ । थारु समुदायको जनसङ्ख्याको आधारमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा  समान सहभागिता हुनुपर्ने हाम्रो माग हो । संवैधानिक आयोगमा थारु समुदायको सहभागिताको सुनिश्चितता गर्नुपर्छ ।

अदालतले निजामतीमा थारु समुदायमा कोटा दिनुपर्ने भनेको छ । तर लोकसेवा आयोगले विज्ञापनको सूचना निकाल्दा थारु समुदायको लागि आरक्षणको व्यवस्था गरेको छैन । अहिले पनि थारु समुदायलाई हेर्ने सङ्कीर्ण  सोच छ । हामीले थारु १५ प्रतिशत र रानाथारु तीन प्रतिशतलाई जोडेर १८ प्रतिशतलाई आरक्षणको व्यवस्था गर्नुपर्ने माग गर्दै आएको हो । तर पूरा भएको छैन । 

सङ्घीयता सुदृढीकरणको सुझाव
    
सङ्घीयतालाई अझै सुदृढ बनाउन स्थानीय र प्रदेशलाई अधिकार दिनुपर्छ । प्रदेश र स्थानीय तहको लागि आवश्यक कानुन समयमै बनाउनुपर्छ । हामी सङ्घीयता आएपछि पनि पुरानै सोच विचारमा गुज्रिरहेका छौँ कि जस्तो लाग्छ । अहिले प्रदेश र स्थानीय सरकार ‘पेन्डुलम’जस्तो भएको छ । प्रदेश र स्थानीय सरकार दलको कार्यकर्ता व्यवस्थापन गर्ने थलोजस्तै भएको छ । यदी प्रदेश र स्थानीय सरकारलाई पर्याप्त अधिकार दिने हो भने सङ्घीय सरकारले यति धेरै बोझ बोक्नुपर्दैन थियो । यदी सङ्घीयता बलियो बनाउने हो भने तल्लो  तहको सरकारलाई बलियो बनाउनै पर्छ । 

सङ्घीय संसद्, प्रतिनिधिसभाको अनुभव 
    
मेरो पाँच वर्षअघिको योजना लम्कीचुहा नगरपालिकाको प्रमुख भन्ने योजना थियो । तर त्यो पूरा भएन । मेरो अनुभवमा पछिल्लो चरणको सङ्घीय संसद्, प्रतिनिधिसभामा नयाँ पुस्ताको सङ्ख्या बढेको छ । ठूला दलहरु नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट पनि युवा पुस्ता सशक्त रुपमा संसदमा आएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट पनि युवाको संसदमा उत्तिकै सहभागिता छ । युवा पुस्ताले सङ्घीय संसद्प्रति चासो जगाएका छन् । युवा सांसदले सदनमा जनताका सवाललाई प्राथमिकताका साथ उठाएका छन् । त्यसले पनि संसद्प्रति जनताको चासो बढेको देखिन्छ ।  संसद्मा जनताको सवाल पर्याप्त रुपमा उठेका छन् । 

सरकारले पनि संसद्मा उठेका विषयलाई कार्यान्वयन गर्दै लगेको छ । यद्यपि कानुन निर्माणको काम अपेक्षाकृत हुन नसकेको सत्य हो । यसको मतलब कानुन नै नबनेको भन्ने होइन, तर तीव्र गतिमा हुन सकेको छैन । जुन रफ्तारमा कानुन बन्नुपर्ने हो, त्यो हुन सकेको छैन । अहिले देश सङ्घीयतामा आएको छ । तर हामीले २०१८ साल, २०३२ सालका कानुनअनुसार काम गरिरहेका छौँ ।

विकासका विषयमा देश सङ्घीयतामा आएपछि अहिले गाउँ/गाउँमा, टोल/टोलमा बाटो पुगेको छ । तर शिक्षा क्षेत्रमा प्रगति हुन सकेको छैन । मैले संसद्मा पटकपटक कृषिमा जोड दिँदै आएको हो । जति बेला खेती गर्ने समय आउँछ, त्यतिनै खेर किसानलाई सिँचाइ, मल र बीउ अभाव हुन्छ । यस्तो अवस्थाबाट मुक्त हुनेतर्फ लाग्नु राष्ट्रिय आवश्यकता हो, त्यस निम्ति सदन र सरकारमा भएका सबैबीच सहकार्य हुनुपर्छ ।-रासस 

ADV

सम्बन्धित खबर

Advertise