काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वराजा ज्ञानेन्द्र शाह कुनैपनि हालतमा संवैधानिक राजा बन्न नसक्ने टिप्पणी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापले यस्तो टिप्पणी गरेका हुन् ।
शााहलाई धोएर जति सफा गरेपनि संवैधानिक राजा बन्न योग्य नरहेको उनको भनाइ छ । उनले पूर्वराजा शाहले निर्मल निवासमा बसेर उत्पात मच्चाएको आरोप लगाउँदै नारायणहिटीमा भए के गर्लान् भन्दै प्रश्न गरे । उनले पूर्वराजा शाहले व्यवसायी दुर्गा प्रसाईं र पूर्वपञ्च नवराज सुवेदीलाई ल्याएर उत्पात मच्चाएको आरोप लगाए ।
जनताले छानेका प्रतिनिधि देश चलाउन सक्षम रहेकोसमेत उनको दाबी छ । फरक प्रसंगमा बोल्दै महामन्त्री थापाले पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने भन्दै कोही पनि अलमलमा नरहन आग्रह गरे । २०८३ सालको मंसिरभित्र पार्टीको महाधिवेशन भइसक्ने उनको दाबी छ ।
उनले पार्टीमा नेता बलियो र कार्यकर्ता कमजोर बन्दै गएका कारण असन्तुष्टि रहेको भन्दै संगठन निर्माणमा जुट्न समेत पार्टी कार्यकताहरुलाई आह्वान गरे । महामन्त्री थापाले सरकारले अपेक्षाकृत रुपमा काम गर्न नसकेको आरोप समेत लगाए । उनले सरकारले गठन गरेको राजनीतिक संयन्त्रले भनेका कुरा सरकारले टेर्ने नगरेको आशय व्यक्त गरे । संयन्त्रले सरकारले गर्ने काममा टेवा पुर्याउन आवश्यक सुझाव दिने गरेको भएपनि उपलब्धिमुलक काम हुन नसकेको बताए । उनले कर्मचारी सरुवा बढुवा र नियुक्तिको काम संयन्त्रले नभई सरकारले गर्ने कुरामा सबै स्पष्ट हुन जरुरी रहेको समेत बताए ।
उनले एमाले–कांग्रेस नेतृत्वको संयुक्त सरकारले चाहेजस्तो उपलब्धि दिन नसकेका कारण आफूले सधैं प्रश्न गरिरहेको समेत जिकिर गरे ।