रुपन्देही : प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सिध्याउँछु भन्ने स्वार्थी तत्वहरू असफल भएको बताएका छन् ।
नेकपा (एमाले) को रुपन्देही जिल्ला कमिटीले शुक्रबार बुटवलमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै एवं एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले एमालेले लिएको समृद्धि र विकासको यात्राबाट तर्सिएर देशी विदेशी प्रतिक्रियावादी स्वार्थी तत्वहरूले एमालेलाई विभाजनको असफल कोशिस गरिरहेको बताए ।
‘एमालेलाई सिध्याउँछु, केपी ओलीबिनाको एमाले बनाउँछु भन्नेहरू सफल हुँदैनन् । म धेरै बाँच्ने होइन, त्यसपछि पनि मभन्दा बलवान नेताहरू पार्टीमा आउनेछन् । यस देशको विकासको भाग्यरेखा हामी आफै कोर्छाैँ’, उनले भने ।
मान्छेको घरमा आगो लगाएर र पसलबाट चोरेर भाग्नेहरूले क्रान्ति र परिवर्तनका लागि केही गर्न नसक्ने पनि उनले बताए ।
राजतन्त्र र पञ्चायतकालमा मुलुकमा कुशासन र अव्यवस्था भएकाले जनताको बलिदानीपूर्ण संघर्षबाट ल्याइएको लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन अहिलेको सरकारले आफ्ना सबै प्रयास गरिरहेको प्रधानमन्त्रीको भनाइ छ ।
विगतमा आफ्ना कुशासन र निरंकुशताको राज सम्झिएर प्रतिगामी तत्वहरूले यस व्यवस्थालाई बदनाम गर्न अराजकता र अफबाह फैल्याउन खोजे पनि त्यसबाट विचलित नभई समृद्धि र सुशासनको अहिलेको यात्रामा योगदान दिन सबैमा आग्रह उनले आग्रह गरे ।
अहिलेको आधुनिक समयमा जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तमा पछि लाग्नु बेक्कार भएको जनाउँदै प्रधानमन्त्रीले लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउँदै जनताको समृद्धि र विकासलाई तीव्र गति दिन वर्तमान संयुक्त सरकार कटिबद्ध रहेको स्पष्ट गरे ।
देशका ठुला दलहरू नेपाली कांग्रेस र एमालेले मुलुकलाई स्थायित्व दिन र देशलाई परिवर्तनका लागि सरकार बनाएले यो सरकार आगामी निर्वाचनसम्म जाने स्पष्ट गर्दै उनले भने, ‘यो सरकार ढल्न त के हल्लन पनि हल्लँदैन ।’
प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकारको पालामा लुम्बिनीमा विभिन्न राजमार्ग, अस्पताल, अन्राष्ट्रिय सम्मेलन केन्द्र, ध्यान केन्द्र, कृषि उत्पादन क्षेत्रको विकासजस्ता अनेकै विकास र प्रविधिका योजना र कार्यक्रमहरू ल्याएको अवगत गराए ।