पाल्पा : पाल्पामा निर्माण क्षेत्रमा काम गर्ने ५५० श्रमिकको निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । भवन तथा बाटो निर्माणकर्मी संघले निःशुल्क स्वास्थ्य जाँच शिविर आयोजना गरेको हो ।
संघका अध्यक्ष सुरेश कर्माचार्यले श्रमिकहरू दैनिक काममा व्यस्त हुँदा आफ्नो स्वास्थ्य अवस्थाबारे अनभिज्ञ भएको हुँदा उनीहरूको स्वास्थ्य जाँचको अभियान चलाइएको बताए ।
कर्माचार्यले भने, ‘अधिकांश श्रमिकलाई उच्च रक्तचाप र मधुमेह भएको थाहै हुँदैन । जाँच गर्दा यस्ता समस्या देखिएका छन् । यस्तो अवस्थालाई रोक्न स्वास्थ्य जाँच र सचेतना कार्यक्रम सञ्चालन गरेका हौ ँ।’ संघले प्रत्येक ६–६ महिनामा स्वास्थ्य जाँच गर्ने र औषधि खानेहरूको नियमित फलोअप गर्ने योजना बनाएको छ ।
स्वास्थ्यकर्मीको टोलीले विभिन्न ठाउँमा पुगेर जाँच गरेको छ । जाँचपछि आवश्यक औषधि र परामर्श पनि दिइएको छ । युनाइटेड मिसन अस्पतालका डाइबेटिज काउन्सिलर दीपक बिसीले भने, ‘जाँच गरिएकामध्ये ५० प्रतिशतमा उच्च रक्तचाप र ३० प्रतिशतमा मधुमेह देखिएको छ ।’ उनका अनुसार अन्य श्रमिकमा ढाड, कम्मर, गोडा दुख्ने र छालासम्बन्धी समस्या पनि भेटिएको छ ।
संघका उपाध्यक्ष नीलकण्ठ देवकोटाले सबै श्रमिकको घर, टोल र कार्यस्थलमै पुगेर जाँच गरिएको बताए ।