२०८१ चैत ३१ गते आइतवार / Apr 13 , 2025 , Sunday
२०८१ चैत ३१ गते आइतवार
Ads

जुम्लामा लागुऔषध प्रयोगको अवस्था चिन्ताजनक

draupadi film
दिलमाया शाही
२०८१ चैत २९ गते २०:५१
जुम्लामा लागुऔषध प्रयोगको अवस्था चिन्ताजनक

जुम्ला : जुम्लामा लागुऔषधको प्रयोग चिन्ताजनक ढंगले बढ्दै गएको छ । यातायातको पहुँच बढेसँगै  लागुऔषध भित्रिने गरेको  छ ।  गाँजा, कोकिन, ब्राउन सुगर लगायतका लागुपदार्थ प्रयोग गर्ने कलिलो उमेरका किशोरकिशोरीदेखि युवाहरुको संख्या बढ्दै गएको हो । जुम्लामा हरेक वर्षहरूमा लागुऔषध दुरुपयोग समस्या बन्दै गएको छ । 

किशोरकिशोरीदेखि युवावर्गसम्म ब्राउन सुगर जस्ता कडा लागुऔषधको कुलतमा फस्न थालेको  प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले बताए । उनका अनुसार लागुऔषधको कारोबार गर्ने गिरोहले  बालबालिकादेखि किशोरकिशोरी र यवायुवतीलाई बिक्री वितरण गर्ने गरेको छ । प्रजिअ शाहीले  लागुपदार्थ औषध नियन्त्रण तथा  सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया कार्यक्रमा सबै भन्दा बढी नागरिक शिक्षा आवश्यक रहेको बताए । 

उनका अनुसार जुम्लामा कुनै पनी घटना घटेको खण्डमा कानुन अनुसार नभइ राजनीतिक दबाब, भनसुन लगायत कुराले कार्य सम्पादनमा चूनौती देखिएको बताए । उनले शान्ति सुरक्षा, विपद् व्यवस्थापन लगायतका विषयमा सबै साथ सहयोग आवश्यक रहेको बताए । 

त्यस्तै जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले प्रहरीले लागुऔषधको प्रयोग गर्ने र सानो मात्रामा बोक्नेलाई पक्राउ गरेपनि कारोबार गर्ने मुख्य गिरोहका व्यक्तिहरुलाई समातेर कारबाही गर्न नसकेको बताए ।  उनका अनुसार प्रहरीले कुनै नागरिकले सुचना दिएको खण्डमा सूचना चुहावट प्रहरीबाटै  हुने गरेको बताए । 

त्यस्तै जुम्लाका प्रहरीका प्रहरी नायव उपरीक्षक छेदीलाल कामतीले खुला सीमाका कारण  जुम्ला जस्तो हिमाली जिल्लामा पनि लागुऔषध भित्रिने गरेको बताए । लागुऔषध फेला परेका जोकोहीलाई पनि प्रहरीले समातेर कारबाही गर्ने गरेको छ ।  गत वर्षहरुको तुलनामा यस वर्ष बढ्न थालेको छ । उनका अनुसार लागुपदार्थ सेवन गर्नेमा १९ देखि २५ र २५ देखि४० वर्ष उम्मेर समुहकाहरु बढी छन् । यसका  लागि सबै भन्दा बढी अभिभावक जिम्मेवार हुनुपर्ने, विद्यालयमा सचेतना हुनुपर्ने र सीमामा कडाइ गरेर लागुऔषधमा संलग्नलाई कडाकारबाही गरिनुपर्ने उनको भनाइ छ । कामतीका अनुसार जुम्ला बजारमा भरी सीसी टिभी जडान नहँुदा प्रहरीलाई  अपराध न्यूनीकरण गर्न समस्या भएको छ । 

जुम्ला प्रहरीको आर्थिक वर्ष २०७७/०७८ मा १४ जना, २०७८/०७९ मा १३ जना, २०७९/०८० मा २५ जना र २०८०/०८१ मा २६ जना लागुऔषधसहित पक्राउ परेका थिए । यसैबीच, प्रहरीले २०७७/०७८ मा ६८० मिलिग्राम ब्राउन सुगर र १०४ ग्राम चरेस बरामद गरेको थियो । २०७८/०७९ मा १०५ मिलिग्राम ब्राउन सुगर, ७६.६२ ग्राम चरेस, २४१ थान ट्रामाडोल र कोलोनोजेपाम ट्याब्लेट बरामद गरिएको थियो । हालै सम्पन्न आर्थिक वर्ष २०८०/०८१ मा भने १०.४७७ ग्राम ब्राउन सुगर, ३० थान ट्याब्लेट र १८७.६४८ ग्राम चरेस फेला परेको प्रहरीको तथ्यांक छ ।

त्यस्तै जिल्ला सरकारी वकिल कार्यालय जुम्लाका सरकारी वकिल अनिल रेग्मीका अनुसार लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार गाँजा सेवन गरेमा अधिकतम एक महिनासम्म कैद वा दुई हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ ।

सरकारी वकिल रेग्मीका अनुसार २५ बोटसम्म गाँजा खेती गरेमा तीन महिना कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना र सोभन्दा बढी बोट खेती गरेमा तीन वर्षसम्म कैद वा पाँच हजारदेखि पच्चीस हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान छ । बारम्बार अपराध गरेमा थप पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था ऐनमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले लागुऔषध नियन्त्रणका लागि निरन्तर रूपमा निगरानी, सूचना संकलन तथा नियन्त्रण कारबाहीलाई तीव्र बनाइरहेको जनाएको छ ।

त्यस्तै  चन्दननाथ नगरपालिकाका मेयर राजुसिहं कठायतले लागुऔषध प्रयोग गर्ने युवाहरुकै कारण हत्या, लुटपाट, चोरी, डकैती जस्ता अपराधका घटना बढ्दै गएको बताए । उनले लुटपाट, चोरी, डकैती लगायतका प्रायजसो घटनामा लागु पदार्थ प्रयोग कर्ता संलग्न रहने गरेको बताए । उनले लागुऔषध नियन्त्रण गर्नका लागि नगरपालिका तयार रहेको बताए । 

चन्दननाथ नगरपालिका जुम्लाको आयोजना  र जिल्ला प्रशासन कार्यालय जुम्ला, शोसेक नेपाल,रेडक्रस लगायतको सहजिकरणमा लागुपदार्थ औषध नियन्त्रण तथा  सेवा प्रवाह सम्बन्धी  एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा कानुनी कारबाहीसँगै समाजमा सचेतना अभिवृद्धि, सरोकारवालाहरुको मनोपरामर्श लगायतका विषयमा ध्यान दिनुपर्ने  बताएका छन् । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise