हेटौँडा ः २०४१ सालदेखि बसोबास गर्दै आएका मीन बहादुर संजेलले भोग चलन गर्दै आएको जग्गाको लालपुर्जा हातमा परेपछि संजेलको खुशी फर्किएको छ । मकवानपुर बकैया गाउँपालिका–७ का संजेलले आफ्नो हातमा लालपुर्जा आईसकेपछि सुकुम्बासी भएर बस्नुपर्ने बाध्यता हटेको बताए ।
त्यसैगरी, जीवनको करिब ८ दशक पुग्नै लाग्दा आफूले भोग चलन गर्दै आएको जग्गाको पुर्जा हातमा परेपछि ठूलीमाया ब्लोनको अनुहारमा मुस्कान फक्रिएको छ ।
बकैया गाउँपालिका–७ स्थित भीरकोटकी फुलमायाले पनि जीवनको ८ दशक पुग्नै लाग्दा लालपुर्जा हात पारिन् ।
३ छोरामध्ये एक विदेश गएका १६–१७ वर्ष बित्दासमेत नफर्किएपछि चिन्तित रहँदै आएकी उनी छोरीको घरमा बस्दै आएको थियो । शारीरिक रूपमा अशक्त भएपनि हातमा लालपुर्जा लिएर उनको अनुहारमा खुशी देखिन्थ्यो ।
विष्णु माया भ्लोनको पनि हातमा लालपुर्जा परेपछि खुशीको सीमा नरहेको बताइन् । सानै उमेरमा बिहे गरेर बकैया–७ का बुद्धबहादुर भ्लोनसँग बिहे गरेर आएकी उनले हातमा लालपुर्जा प्राप्त भएपछि जीवनकै ठूलो उपहार प्राप्त गरेको बताइन् ।
भूमि समस्या समाधान आयोग मकवानपुरले बकैया–७ का ५९ वटा लालपुर्जा वितरण गरेको छ । भूमि समस्या समाधान आयोग मकवानपुरले जग्गाधनी पुर्जा प्राप्त गर्नेमा बकैया गाउँपालिका–४ का १९ जना र भूमिहीन सुकुम्बासी ४० जना रहेका छन् ।
आइतबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बालराम अधिकारीको उपस्थितिमा वर्षौंदेखि बसोबास गरिरहेका तर लालपुर्जा पाउन वञ्चित बकैयाका ५९ जना भूमिहीनलाई लालपुर्जा वितरण गरेका हुन् ।
पछिल्लोपटक गठित भूमि समस्या समाधान आयोगले पहिलोपटक मकवानपुरमा जग्गाधनी पूर्जा वितरण गरेको हो । ६१ वटा लालपुर्जा वितरणको तयारी रहे पनि २ वटा पुर्जा वितरणमा प्राविधिक कारणले रोकिएको र २ वटा पनि केहि दिनमै वितरणको तयारी रहेको बताएका छन् ।
लालपुर्जा वितरण कार्यक्रममा मन्त्री अधिकारीले भूमिहीनको समस्या स्थायी रूपमा समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । संविधानमा व्यवस्था भएअनुसार राज्य हरेक नागरिकलाई भूमि स्वामित्व उपलब्ध गराउने तर्फ केन्द्रित रहेको उनको भनाइ छ ।
मन्त्री अधिकारीले सरकारले भूमिहीन सुकुम्बासी समस्या हल गर्न अन्तिमपटक भूमिहीन सुकुम्बासी समस्या समाधान आयोग बनाएर काम थालेको बताए ।
कानुनी समस्या हल गर्दै सुकुम्बासी समस्या अन्त्यको लागि सरकारले काम गरेको मन्त्र अधिकारीले बताए । सरकारले ५ लाख भूमिहीन सुकुमवासीलाई लालपुर्जा वितरण गर्ने तयारी गरेको उनले बताए ।
अघिल्लो कार्यकालमा भएको निर्णयलाई निरन्तरता दिँदै आयोग मकवानपुरले पूर्जा वितरण गरेको आयोगका अध्यक्ष बलराम बलले जानकारी दिए । अध्यक्ष बलले मकवानपुरका विभिन्न स्थानीय तहरुहरुका भुमिहिनलाई २ सय लालपुर्जा वितरणको तयारी अवस्थामा समेत रहेको जानकारी दिए ।
वडाले सूचना जारी गरी सोही आधारमा अनुसूची फारम भरेका नागरिकहरुको छानविन गरेर पूर्जा वितरण गरेको उनले बताए ।