काठमाडौं : नयाँ शैक्षिकसत्र २०८२ को विद्यालय भर्ना अभियान सोमबारेदेखि शुरू भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित भर्ना अभियान शुरू भएको हो ।
विद्यार्थी भर्ना अभियानको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । अभियानलाई सफल पार्न प्रधानमन्त्री ओलीले आग्रह गरेका छन् उनले विद्यालय शिक्षा विधेयक २०८१ लाई छलफलसहित पारित गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
शिक्षा क्षेत्रमा बजेटको अंश वृद्धि गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न सरकार अघि बढिरहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
उनले नेपालको झन्डै २० प्रतिशत जनसंख्या अझै पनि निरपेक्ष गरिबीको रेखामुनि रहेको बताउँदै यस्तो अवस्थाको अन्त्यका लागि शिक्षा सबैभन्दा प्रभावकारी उपाय भएको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले विद्यार्थी टिकाउ दरमा अझै सुधार आवश्यक रहेको बताउँदै सीपमूलक, व्यावसायिक तथा प्राविधिक शिक्षामा लगानी बढाउने सरकारको प्राथमिकता रहेको बताए ।
प्रधानमन्त्री ओलीले सन् २०३० सम्ममा दिगो विकासको विश्वव्यापी लक्ष्यहरू हासिल गर्न विद्यालय शिक्षा साधारण प्राविधिकदेखि उच्च शिक्षासम्मका सिकाइलाई समावेशी र गुणस्तरीय बनाउनाका साथै सबै शिक्षण संस्थालाई उत्कृष्ट ज्ञान केन्द्रका रुपमा विकास गरी शिक्षालाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने माध्यम बनाउनुपर्नेमा जोड दिए । उनले समृद्धिको एक आधारका रूपमा शिक्षा क्षेत्र रहेकाले गुणस्तरीय र रोजगारमूलक शैक्षिक जनशक्ति उत्पादनमा शिक्षाका सबै अभियन्तालाई लाग्न आग्रह गरे ।
‘अहिले अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षाको लक्ष्य हासिलका लागि तीनै तहका सरकारबीच आपसी समन्वय, सहकार्य र सहअस्तित्वमा आधारित भएर लगानीमा साझेदारी अभिवृद्धि गर्नुपर्ने अवस्था रहेको छ,’ प्रधानमन्त्रीले भने ।
प्रधानमन्त्री ओलीका अनुसार शिक्षामा भएको लगानी र स्रोत साधनको प्रभावकारी एवं रचनात्मक उपयोग गरी गुणस्तरीय शिक्षामार्फत रोजगारी तथा नैतिक आचारणयुक्त नागरिक र समाज निर्माण गर्नु आवश्यक छ । ‘आफूसँग भएको विद्यालाई व्यवहारमा उतार्नु अहिलेको आवश्यकता हो । ज्ञानलाई व्याहारिकरूपमा र समाजको समग्र पक्षको भलाइका लागि प्रयोग गर्नुपर्छ । हामी शिक्षित भएर मात्रै हुँदैन विनयशील पनि हुनुपर्दछ,’ उनले भने ।
यस्तै आन्दोलनरत शिक्षकहरूप्रति संकेत गर्दै प्रधानमन्त्री ओलीले न्यायपूर्ण मागहरूको सम्बोधनमा सरकार प्रतिबद्ध रहेको बताए ।
नयाँ शैक्षिकसत्र शुरू हुने समयमा लाखौं शिक्षक कर्मचारीहरू शिक्षा ऐन माग गर्दै काठमाण्डौमा आन्दोलित छन् । उनीहरूलाई विद्यार्थी भर्ना अभियानमा सहभागी हुन शिक्षामन्त्री विद्या भट्टराईले आग्रह गरिन् ।