चितवन ः प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुर महानगरपालिमा निर्मित ६ लेख सडकको शुक्रबार उद्घाटन गरेका छन् ।
नारायणगढ पुल्चोकदेखि भरतपुर गोन्द्राङसम्म ६ किलोमिटर दूरीको सो खण्डको विस्तारको शिलान्यास पनि यसअघि प्रधानमन्त्री भएका बेला ओलीले नै गरेका थिए ।
१७ माघ २०७७ मा सडकको शिलान्यास भएको थियो । उद्घाटन गर्दा २७ महिनाभित्र काम सक्ने लक्ष्य तय गरिए पनि २० महिना ढिलो काम सम्पन्न भएको हो ।
कोरोना महामारीलगायत समस्याले ४७ महिना समय लागेको भरतपुर डिभिजन सडक कार्यालयका प्रमुख नारायणप्रसाद लामिछानेले बताए । १ अर्ब १३ करोड रूपैयाँको लागतमा विस्तारको काम पूरा भएको हो ।
सडक विस्तारपछि भरतपुर ओरालोको उचाइ ६० सेन्टिमिटरदेखि १.२ मिटरसम्मले घटाइएको हो । सडकको दायाँ–बायाँ ११.५÷११.५ मिटरको एक्सप्रेस लेन रहेको छ । त्यसको बीचमा तीनदेखि चार मिटरको मेडियन छ, जहाँ दुबो र बिरूवा लगाइसकिएको छ ।
एक्सप्रेस लेनको छेउमा दुवैतर्फ ठूला नाली छन् । नालीभन्दा बाहिर दुवैतर्फ छ मिटरसम्मको सर्भिस लेन रहेको छ । सर्भिस लेनबाहिर दुवैतर्फ तीनदेखि चार मिटरको फुटपाथ रहेको छ । एक्सप्रेस लेन लामो दूरीका सवारीसाधन र सर्भिस लेन छोटो दूरीका सवारीसाधन सञ्चालनका लागि निर्माण गरिएको हो ।
सडक विस्तारसँगै भरतपुर महानगरको ट्राफिक व्यवस्थापन, सवारी साधनको चाप र जनसाधारणको आवागमनमा सहजता आउने विश्वास गरिएको छ । ६ लेन सडकसँगै फुटपाथ, ड्रेनेज, स्ट्रीट लाइट र संकेत चिन्हहरू समेत व्यवस्थित गरिएको छ ।
भरतपुरको मुख्य बजार क्षेत्रमा भरतपुर महानगरले ट्राफिक लाइट जडानको काम समेत सुरु गरिसकेको छ ।
स्थानीय प्रतिनिधिहरूले भरतपुर प्रवेशद्वारका रूपमा रहेको यस क्षेत्रको सडक स्तरोन्नति विकासको महत्वपूर्ण पाइला भएको बताएका छन् । यो सडक खण्ड विकासले क्षेत्रीय व्यापार, आवागमन, बसोबास, र यातायात सेवामा दीर्घकालीन सुधार ल्याउने अपेक्षा गरिएको छ ।