काठमाडौंः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्नको लागि ‘मिसन रोजगारी’ राष्ट्रिय अभियान सुरु गरिएको बताएका छन् ।
शुक्रबार नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनद्वारा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले वैदेशिक रोजगारीमा देखिएका समस्याहरुको समाधान गर्नको लागि पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर उक्त अभियान सञ्चालन गरेको दाबी गरे । उनले वैदेशिक रोजगारीको क्षेत्रलाई तिरस्कार र गालीको क्षेत्र बनाउन नहुने बताए । उनले वैदेशिक रोजगारीमा कस्ता मान्छेहरु गइरहेका छन् भन्नेबारे विश्लेषण गर्न एशोसिएशनसँग सहकार्य गर्न चाहेको पनि बताए ।
उनले भने, ‘अहिले नेपाली कांग्रेसको दुई जना महामन्त्रीले मिसन रोजगारी भन्ने एउटा राष्ट्रिय अभियान प्रारम्भ गरेका छौं । त्यो अभियानको एउटा अभिन्न अंग भनेको एउटा वैदेशिक रोजगारी हो । यो अभियान सुरु भएको एक महिना भयो । यसमा हाम्रो एउटा टिमले काम गरिरहेको छ । केही विश्वविद्यालयहरुसँग हाम्रो साझेदारी छ । केही शैक्षिक संस्थाहरुसँग पनि हाम्रो साझेदारी छ । हामी अब एसशेसिएशनसँग पनि काम गर्न चाहन्छौं । हामी वैदेशिक रोजगारीको क्षेत्रलाई तिरस्कारीको क्षेत्र, गालीको क्षेत्र होइन हामी सँगसँगै बसेर कस्ता मान्छे काम गर्न गएका छन् ? किन गएका छन् ? को जाने को नजाने भन्नेबारेमा ज्ञान उत्पादन गर्ने ठाउँमा हामी तपाईंहरुसँग बसेर काम गर्न चाहन्छौं । किन कि यो विषयको हल हामीले खोज्नुपर्नेछ ।’
महामन्त्री थापाले नेपाली कांग्रेस पार्टीले अब समस्या देखाएर मात्र नहुने भन्दै समाधान दिनसक्नुपर्ने बताए । नेपाली कांग्रेस पार्टीले नेपालमा रहेको रोजगारीको समस्याको समाधान दिनसक्नुपर्ने भन्दै निजी क्षेत्रसँग सहकार्य गर्न तयार हुनुपर्ने बताए । मुलुकमा विद्यमान समस्याका सम्बन्धमा पार्टीले रुवाबासी गर्ने नभई समाधान दिनेगरी पार्टीको कार्यशैली र दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताए ।
उनले भने, ‘कांग्रेस पार्टीले अब समस्या मात्र देखाएर हुँदैन । कांग्रेस पार्टीले अब समाधान पनि दिनुपर्छ । हामी समाधान दिने पार्टी हो । हाम्रो ड्युटी हो यो । नेपाली कांग्रेस पार्टीले नेपालमा रोजगारीको समस्या छ समाधान दिने हो । वैदेशिक रोजगारीको क्षेत्रलाई थप राम्रो बनाउने हो । अब पार्टीको काम गर्ने तरिका पनि बदलिनुपर्छ । पार्टीको दृष्टिकोण पनि बदलिनुपर्छ । अब हामीले गनगन गर्ने पनि होइन रुवाबासी गर्ने पनि होइन । अब समस्या भएको क्षेत्रमा कांग्रेस छ र समाधान दिन्छ भन्ने पार्टी बनाएर जान आवश्यक छ ।’
नेपाली कांग्रेसले आन्तरिक एवं वैदेशिक रोजगारीको सम्बन्धमा चिन्तन गरिरहेकोले छिट्टै समाधान दिने विश्वास व्यक्त गरे ।