काठमाडौं : उपत्यका विकास प्राधिकरण अन्तर्गत बागमती नगर जग्गा एकीकरण आयोजना, गौरीघाटमा करार सेवामा कार्यरत अमिन दिनेश प्रसाद यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
आयोगले उनीविरुद्ध ३ करोड २९ लाख ४५ हजार रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा आरोपपत्र दायर गरेको हो ।
अख्तियारका अनुसार यादवले २०६३ साल भदौ ८ गतेदेखि २०८१ साल असार ३० गतेसम्मको अवधिमा वैध आम्दानीभन्दा बढी सम्पत्ति आर्जन गरेको पुष्टि भएको हो ।
उक्त अवधिमा यादवको वैध आय २ करोड ४२ लाख २० हजार ३०१ रुपैयाँ ३० पैसा रहेकोमा उनको खर्च ५ करोड ७१ लाख ६६ हजार ३ रुपैयाँ ५१ पैसा पुगेको आयोगको दाबी छ ।
आयोगका अनुसार वैध आय र खर्चबीचको अन्तर ३ करोड २९ लाख ४५ हजार ७०२ रुपैयाँ २१ पैसा ऋणात्मक देखिएकोले उक्त रकम गैरकानुनी रुपमा आर्जन गरिएको ठहर गरिएको हो ।
यादवले आर्जन गरेको स्रोत नखुलेको सम्पत्तिबाट बढाइएको हालको सम्पत्तिसमेत जफत गर्न माग गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २०(२), ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम कारबाही माग गरिएको छ ।
त्यस्तै, यादवले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति र त्यसबाट बढाइएको सम्पत्ति आफ्नी श्रीमती अमृता कुमारी यादवको नाममा राखेको पुष्टि भएको आयोगले जनाएको छ ।
उक्त सम्पत्तिसमेत जफत गर्न प्रयोजनका लागि अमृता कुमारी यादवलाई समेत प्रतिवादी बनाइएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।