२०८२ वैशाख ९ गते मङ्गलवार / Apr 22 , 2025 , Tuesday
२०८२ वैशाख ९ गते मङ्गलवार
Ads

गुडिरहेको जीपमा कसरी लाग्यो करेन्ट ?

draupadi film
२०८२ वैशाख ९ गते ०६:२०
गुडिरहेको जीपमा कसरी लाग्यो करेन्ट ?

ताप्लेजुङ : ललितपुर महानगरपालिका–१० की सविना पौडेललाई पाथीभरा दर्शन गर्न धेरै अघिदेखि इच्छा थियो । तर घरायसी व्यस्तताले पाथीभरा जान सकिरहेकी थिइनन् ।

घरको सबै काम सकेर छोराछोरी र बुवाआमालाई साथमा लिएर पाथीभरा दर्शन गर्न आइतबार ताप्लेजुङ पुगिन् । उनीहरू बेलुकी ताप्लेजुङको फुङलिङ आए, र त्यही बास बसे ।

सोमबार बिहानै पाथीभराको दर्शन गर्ने उनीहरूको योजना थियो । त्यही अनुसार बिहान पाथीभराका लागि प्रस्थान गरे ।

सविनासँगै छोरा १० वर्षीय भबिमय आचार्य, १६ वर्षीया छोरी आध्या आचार्य, माइतीका बुबा झापा भद्रपुर नगरपालिका १५ का ७० वर्षीय विनोद पौडेल र आमा ६९ वर्षीया सरिता पौडेल थिए ।

होटलमा बास बसेपछि सविनाले होटल सञ्चालक सविन बानियाँलाई काफ्लेपाटीसम्म पुग्ने ट्याक्सी व्यवस्थापन गरिदिन आग्रह गरिन् । सविनले मालिकसमेत रहेका ट्याक्सी चालक फुङलिङ नगरपालिका–१० फुरुम्बुका ४२ वर्षीय दुर्गा भट्टराईलाई सम्पर्क गरे ।

बिहान मन्दिरमा पूजा गर्ने र दिउँसो फर्किहाल्ने गरी उनीहरू पाथीभरा जाने निधो भयो । उनीहरू बिहान साढे ३ बजे फुङलिङबाट काफ्लेपाटीतर्फ हिंडे ।

वर्षौदेखि यस रुटमा ट्याक्सी चलाइरहेका चालक भट्टराईले सडकको खाल्टो छल्दै बिजुलीको पोल नजिकबाट गाडी अगाडि बढाए । उनले बिजुलीको तार माथिबाट झरेको थाहा पाएनन् । तारमा बोलेरो जीप ठोक्किने बित्तिकै गाडीमा आगजनी भयो र तुरुन्त्त करेन्ट प्रवाह भयो । उनीहरू गाडी छोडेर भाग्न समेत भ्याएनन् ।

करेन्ट लागेर जीपमा आगो लाग्यो । त्यसमा परेर चालक भट्टराईसहित सविनाका छोरी आध्या, बुबा विनोद र आमा सरिताको घटनास्थलमै मृत्यु भयो । सविना र छोरा भविमय भने जोगिए ।

उनीहरू भन्दा पछाडि  भरतपुर नगरपालिका–४ चितवनका जनार्दन भण्डारीसहित चढेको गाडी आइरहेको थियो । 

भण्डारीले जलिरहेको गाडी छेऊमा सविनाले हात उठाइरहेको देखे । भण्डारीले उनलाई तानेर पर सारे । भविमय त्यसअघि नै गाडिबाट बाहिर निस्किसकेका थिए । 

त्यसपछि भण्डारीले आफू चढेको गाडीमा विना र भविमयलाई बोकेर ताप्लेजुङ अस्पताल गए । 

अस्पतालमा प्राथमिक उपचारपछि सविनालाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ । उनका श्रीमान् काठमाडौँमै कार्यरत छन् । 

कसरी भयो घटना ?

नेपाल विद्युत प्राधिकरण ताप्लेजुङ वितरण केन्द्रका प्रमुख सुरेश प्रसाद चौधरीले आइतबार राति वर्षा र चट्याङले पोलको तारको पिन फुटाउँदा तार लत्रिएर दुर्घटना भएको बताएका छन् । उनले भने, ‘हामीले पहिल्यै थाहा पाएनौं, बिहानै यस्तो दुर्घटना भयो ।’

तर प्राधिकरणले नियमित अनुगमन र मर्मतसम्भार नगर्दा यस क्षेत्रमा विद्युतका पोल जताततै विद्युतीय धराप जस्ता देखिएको स्थानीयहरू बताउँछन् । ‘बिजुलीका पोलहरू ढल्किएका छन् भने कतिपय ठाउँमा अझैपनि तार लत्रिएको अवस्थामा छन्’, स्थानीय राम दुलालले भने ।

घटनापछि पीडित परिवारले शव बुझका छैनन् ।

दुर्घटनास्थल फुङलिङ नगरपालिका– १० का वडाध्यक्ष सन्तोष लिम्बूका अनुसार मृतकहरूका आफन्तले नेपाल विद्युत प्राधिकरणसँग छलफलपछि मात्रै शव बुझ्ने बताएका छन् । 

प्राधिकरणका कोशी प्रादेशिक कार्यालयका प्रमुख मुनिन्द्र ठाकुरले हावाहुरी र चट्याङसहित पानी पर्दा बिजुलीको पोलमा फलामे पिनमा अल्झाएर राखिने तार च्यानलबाट तल झर्दा दुर्घटना भएको हुन सक्ने अनुमान गरे ।

प्रमुख ठाकुरका अनुसार बिजुलीको तारले गाडीको छतमा छोइँदैमा मात्रै त्यसरी मान्छेलाई करेन्ट लाग्ने र गाडीमै आगलागी हुने अवस्था आउँदैनथ्यो । 

घटनालाई भवितव्य भन्दै ठाकुरले तार लत्रिएको नदेखेर पोलको छेउबाट गाडी चलाउँदा घटना भएको ठाकुरले बताए ।

प्रारम्भिक रूपमा घटनाबारे नियाल्दा सडकको कुनातर्फ पानी जमेको र छेउबाट गुडाउँदा लत्रिएको तार छोइएर घटना भएको देखिएको उनले बताए । प्राधिकरणले घटनाबारे विस्तृत अध्ययन पनि गर्ने उनले बताए ।

कालीकोटमा ४ जनाको मृत्यु

कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिका–९, थिर्पुदेखि पलाँता–४ छलतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेमा चालकसहित दुई पुरुष र दुई महिला छन् ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार मृत्यु हुनेमा ट्र्याक्टर चालक मुगुको खत्याड गाउँपालिका– ५, कवाका अन्दाजी २५ वर्षीय चन्द्र प्रकाश रोकाय, कालीकोटको पलाँता गाउँपालिका– ४ का अन्दाजी २१ वर्षीय रविन्द्र विक, सोही ठाउँका अन्दाजी ३२ कर्षीया सदु बुढा र पलाँता–५ सल्लिकोटकी अन्दाजी २५ वर्षकी अम्बा शाही छन् ।

ADV

सम्बन्धित खबर

Advertise