काठमाडौं : नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा माओवादी केन्द्र सत्ताको लोभबाट बाहिर निस्किन नसकेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले माओवादी अहिलेको सरकार हटाएर कांग्रेस नेतृत्वको सरकार बनोस् भन्ने पक्षमा रहेको बताए । उनले कांग्रेसको अहिलेको नेतृत्व आएर देशका सबै समस्या समाधान हुन्छन् ? भन्दै प्रश्न गरे । उनले कांग्रेस लायक पार्टी नभएको आरोप लगाए । उनले माओवादी गणतन्त्र आफूले ल्याएको र यसको भोग पनि आफूले मात्रै गर्न पाउनुपर्ने तर्क गरेर हिँडिरहेको भन्दै यसबाट देश बन्न नसक्ने जिकिर गरे ।
उनले प्रधानमन्त्रीको विरुद्धमा अहिले देशभर नै नारा लागिरहेको भन्दै जनतामा विश्वास नरहेको जिकिर गरे । त्यसको जवाफमा वैशाख ११ गते जनसागर उतार्ने कुरा गर्नु दुःखद् भएको उनले बताए । उनले प्रदर्शनमा आउनेहरुले 'आइ लभ यु केपी बा' भन्ने नभइ क्रान्तिको हिसाव माग्नुपर्ने बताए ।
महासचिव भुसालले देश डुबिरहे पनि दलाल पुँजीपतिहरु फाइदामा रहेको बताए । उनले नेता सफल तर देश असफल भइरहेको अवस्था रहेको जिकिर गरे ।